काठमाडौं– नेपालको आयोजनामा आगामी जनवरी ३० देखि नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी२०आई श्रृंखला हुने भएको छ।
नेपाली महिला टोलीको नेदरल्याण्ड्ससँग पहिलो अनुभव हुनेछ।
नेपाल क्रिकेट संघ क्यानले शनिबार बेलुका सूचना जारी गर्दै टी२०आई श्रृंखला हुने जनाएको हो। जनवरी ३० देखि फेब्रुअरी ७ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने श्रृंखलामा सबै टोलीले एक अर्कासँग ३-३ खेल खेल्ने छन्।
पहिलो खेल जनवरी ३० मा नेपाल र नेदरल्याण्ड्सको बीचमा हुनेछ। त्यसैगरी थाइल्याण्डसँग ३१ जनवरीमा खेल्ने छ। फेब्रुअरी १ मा नेदरल्याण्ड्स र थाइल्याण्ड खेल्ने छन्। त्यसपछि ७ फेब्रुअरीसम्म लगातार सोही क्रमका खेलहरू हुनेछन्।
यस ऐतिहासिक सिरिजले महिला क्रिकेट खेलाडीहरूलाई थप प्रेरणा तथा उत्साह थप्नुका साथै नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई थाइल्याण्ड र नेदरल्याण्ड्सका दुई टोलीसँग प्रतिष्पर्धा गर्दै थप अनुभव हासिल गर्ने अवसर समेत प्राप्त गर्ने विश्वास क्यानले लिएको छ।
नेपालको महिला यू-१९ टोली ऐतिहासिक विश्वकपमा सहभागी हुन शनिबार मलेसिया प्रस्थान गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।