एजेन्सी- भारतका ६ जना मन्त्रीले राजीनामा दिएका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले केही दिनभित्रै मन्त्रिमण्डल पुनर्गठन र विस्तार गर्ने अनुमान भइरहेका बेला मन्त्रीहरूले राजीनामा दिएका हुन्।
जलस्रोत मन्त्री उमा भारती, सिप विकास मन्त्री राजीवप्रताप रुडी, कृषिमन्त्री राधामोहन सिंह, जलस्रोत राज्यमन्त्री सञ्जीव बाल्यान, साना उद्यमसम्बन्धी मन्त्री गिरिराज सिंह र महेन्द्रनाथ पान्डेले राजीनामा दिएका हुन्।
अर्थमन्त्री अरुण जेटलीसँग सत्तारुढ दल भाजपाका अध्यक्ष अमित साहले बिहीबार गरेको भेटवार्तामा मन्त्रिमण्डल पुनर्गठनबारे छलफल गरेका थिए। साह–जेटली भेटपछि पाँच मन्त्रीले राजीनामा दिएका हुन्।
प्रधानमन्त्री मोदीले शनिबार मन्त्रिमण्डल पुनर्गठन गर्ने अनुमान छ। मन्त्रिमण्डलमा नयाँ मन्त्री नियुक्त गर्न ती मन्त्रीको राजीनामा मागिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। ब्रिक्स सम्मेलनमा भाग लिन सेप्टेम्बर ३ मा प्रधानमन्त्री मोदी चीन जानुअघि मन्त्रिमण्डल विस्तार हुने सम्भावना छ।
राजीनामा दिएका मन्त्रीहरूलाई सन् २०१९ मा हुने संसदीय निर्वाचनका लागि पार्टीको विभिन्न जिम्मेवारी दिइने पनि सञ्चारमाध्यमले जनाएका छन्।
मोदी प्रधानमन्त्रीको दोस्रो कार्यकाल पनि सम्हाल्ने सुरमा छन्। यसैका लागि उनको ध्यान पार्टी संगठन तल्लो तहबाट सुदृढ पार्नतिर रहेको अनुमान सञ्चारमाध्यमले गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।