फाइल तस्बिर
काठमाडौं- आवश्यक तयारी नपुगेको भन्दै नेकपाको केन्द्रीय समिति बैठक सार्ने तयारी भएको छ। स्थायी समिति सदस्य देवेन्द्र पौडेलका अनुसार बैठकका लागि आवश्यक तयारी नपुगेकाले सार्न लागिएको हो।
बैठक कहिले बस्ने भन्ने मिति भने तय नभएको उनले बताए। अन्तिम पटक पुस ६ गते बसेको बैठकले २३ गते पुन: बस्ने मिति तय गरेको थियो। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेस गरेको प्रतिवेदनमा माघको पहिलो हप्ताभित्र केन्द्रीय समितिको बैठक आयोजना गर्ने उल्लेख थियो।
तर, बैठकमा बोल्ने कतिपय नेताहरूले यथाशक्य छिटो बैठक बोलाउन माग गरेपछि पुस २३ गते बस्ने तय भएको थियो। नेकपाको विधान अनुसार केन्द्रीय समितिको बैठक ६ महिनामा एक पटक बस्नुपर्छ। तर, २०७३ जेठ ३ गते पार्टी एकीकरण भएपछि एकपटकभन्दा बढी बैठक बसेको थिएन।
०७५ जेठ १० मा निर्वाचन आयोगमा दल दर्ता गर्ने प्रयोजनका लागि सबै केन्द्रीय सदस्यको हस्ताक्षर, नागरिकता र माइन्युट तयार गर्न बैठक बसेको थियो। बैठकमा अध्यक्षद्वयद्वले सम्बोधन गरेका थिए।
पार्टी केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व नभएपछि मुखरित भएको आलोचनालाई ओलीले थामथुम पार्ने प्रयास गरेका थिए। उनले महाधिवेशनपछि ३३ प्रतिशत महिला प्रतिनिधित्व गर्ने बताएका थिए। तर, त्यसपछि भने बैठक बसेको थिएन।
नेकपाका नेताहरूले बेलाबेलामा बैठक बस्नुपर्ने माग उठाएता पनि अध्यक्षद्वयले बेवास्ता गर्दै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।