काठमाडौं- इस्केमिक मुटु रोग भनेको यस्तो अवस्था हो जसमा मुटुमा आवश्यकताभन्दा कम मात्रामा रगत प्रवाह हुने गर्दछ। यसलाई कोरोनरी रक्तनलीको रोग पनि भनिन्छ। यो हृदयाघात हुनुको प्रमुख कारण हो।
यो सामान्यतया मुटुको मांशपेशी रगत तथा अक्सिजन प्रवाह गर्ने कोरोनरी रक्तनलीहरु साँघुरो वा बन्द हुनाले लाग्ने गर्दछ। 
इस्केमिक मुटु रोगका लक्षण 
- छाती दुख्ने‚ प्रायःजसो देव्रेतिर
- कहिलेकाहीँ बायाँ  पाखुरा, घाँटी र पेटको  माथिल्लो भाग दुख्ने
- इस्केमिक मुटु रोग भएका बिरामीले कुनै किसिमको दुखाइ महसुस नगर्न सक्छन्। तर उनीहरुलाई श्वास फेर्न गाह्रो हुने,वाकवाकी लाग्ने र बेहोस हुने गर्दछन्। 
प्रायः जसो यस्ता लक्षणहरु बिरामीले बल लगाउने किसिमका काम (जस्तै: हिँडाइ) सकिएपश्चात् कम हुने गर्दछ। तथापि यदि आराम गरिरहेको समयमा पनि छाती दुख्न थालेमा वा सो दुखाइ पर्याप्त आरामपश्चात् पनि यथावत् रहेमा हृदयघात (एक्युट मायोकार्डियल इन्फ्रक्शन) को लक्षण हुनसक्छ। 
सूर्तिजन्य पदार्थको सेवन, ध्रुमपान, उच्च रक्तचाप, मधुमेह, रगतमा बढी चिल्लोपना , मोटोपना, निष्क्रिय जीवनशैली यो रोगका प्रमुख कारक तत्व हुन्।
यो रोग इलेक्ट्रोकार्डियोग्राम (इसिजी) मार्फत पत्ता लगाउन सकिन्छ। यसबाहेक रक्तनली बन्द भएको पुष्टि गर्न अभ्याससहितको इ.सि.जी कारोनरी एन्जियोग्राफी र स्क्यानजस्ता अन्य थप जाँचहरु गर्न आवश्यक पर्न सक्छ।
औषधिको सेवनले कारोनरी रक्तनलीको रोगका लक्षणहरुका साथै भविष्यमा मुटुलाई हुन सक्ने हानीलाई नियन्त्रण गर्न सकिन्छ।  केही बिरामीहरुको बन्द भएको रक्तनलीलाई सानो बेलुनको प्रयोग (एन्जियोप्लाष्टि) वा शल्यक्रिया  गरेर खोल्नुपर्ने हुन सक्छ।
पर्याप्त उपचार गर्न  र जटिलताको रोकथामका लागि नियमित रेखदेख तथा जाँच गराउन जरुरी छ।
इस्केमिक मुटु रोगको रोकथाम र व्यवस्थापन
	- आफ्नो जीवनशैलीलाई परिवर्तन गर्ने
 
	- सन्तुलिन आहारमा बढी जोड दिने र आफ्नो स्वस्थ तौललाई कायम राख्ने
 
	- नियमित रुपमा शारीरिक व्यायाम गर्ने
 
	- धुम्रपान सेवान नगर्ने
 
	- मानसिक तनाव हटाउने
 
	- धेरै बोसोयुक्त खानेकुरा नखाने
 
	- जोखिमपूर्ण कारक तत्वहरुको समयभन्दा अगावै मूल्यांकन गर्न आफ्नो चिकित्सकसँग सम्पर्क गर्ने र यदि केही कारक तत्वहरुको विकास भइसकेको छ भने स्वास्थ्यको पूर्ण परीक्षण गराउने।
 
	- ती जोखिमपूर्ण कारक तत्वहरुलाई चिकित्सकहरुले बोसो कम गर्ने औषधिको प्रयोग गरेर रगतमा भएको चिल्लोपन हटाउन सक्छन्। 
 
	- औषधिको प्रयोग गरेर रक्तचापलाई सामान्य बनाइराख्ने र डायटिसियनसँग सरसल्लाह गरेर खानपिन खानपिन सम्बन्धि सुझाव लिने।
 
	- नियमित रुपमा दिनहुँ औषधि सेवन गर्ने। अन्यथा ती औषधिहरु लाभदायी हुँदैनन्।
 
	- तपाइले सेवन गरिरहेको औषधिहरुको प्रतिकूल असरबारे अनि यसबाट बच्ने विभिन्न उपायहरुबारे आफ्नो चिकित्सकसँग जानकारी लिने।
 
	- चिकित्सकसँग समयसमयमा स्वास्थ्य जाँच गराउने र परामर्श लिने।
 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।