नेपालगञ्ज– दशैं शुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा पुगेका नेपाली घर फर्कन थालेका छन्। नेपालगञ्ज रुपैडिया सीमा नाकामा चाडपर्व मनाउन घर फर्कनेको लस्कर लागेको छ।
दशैं शुरु भएयता जमुनाहा नाका भएर अहिले दैनिक ८ सयदेखि १ हजार सम्म नेपाली कामदार घर फर्कने गरेका छन्। यो संख्या दशैंको टीकाको दिनसम्म बढेर दैनिक २ हजारसम्म पुग्ने इलाका प्रहरी कार्यालय जमुनाहा बाँकेले जनाएको छ।
भारतबाट घर फर्कने नेपालीलाई सीमावर्ती क्षेत्रमा चेकजाँचका नाममा दुःख दिने, पैसा असुल्ने जस्ता काम हुन नदिन सीमा नाकामा हेल्प डेस्क स्थापना गरिएको छ।
रुपैडियाबाट नेपालगञ्जसम्म चल्ने अटो रिक्साको भाडा दर निर्धारण गरी तोकिएको भाडा दरभन्दा बढी भाडा असुल्ने अटो रिक्सामाथि कारबाही सुरु गरिएको छ।
यो वर्ष भारतबाट नेपाल फर्कंदा भारत र नेपालका सीमा चेक पोस्टहरुमा चेकजाँचका नाममा दुःख दिने, अवैध रुपमा पैसा असुल्नेजस्ता काम नभएको र सहज रुपमा घर फर्कन पाएको दशैं मनाउन प्युठान जान लागेका नरेशकुमार केसीले बताए।

दशैं मनाउन घर फर्किंदै गरेका नेपालीलाई चेकजाँचका नाममा दुःख दिने काम रोक्न भारतीय प्रहरीसँग समन्वय गरेर सीमा नाकामा हेल्प डेक्सको स्थापना गरी सहज रुपमा घर फर्कन पाउने वातावरण सिर्जना गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए।
गरिबी र बेरोजगारीका कारण पश्चिम नेपालका दाङ, रोल्पा, प्युठान, रोल्पा, रुकुम, जाजरकोट, सुर्खेत, दैलेख, कालीकोट, जुम्ला हुम्लाका हजारौं नेपाली भारतका विभिन्न शहरमा कामको खोजिमा जाने गर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।