काठमाडौं- गायिका जुनु रिजाल पहिलो पटक नायिका बनेको 'चर्खा' फिल्ममा समाविष्ट 'घनघन मादल घन्कियो' बोलको गीतको भिडियो सार्वजनिक भएको छ। शुक्रबार युटयब मार्फत यो गीतलाई सार्वजनिक गरिएको हो। गीत नेपालको अरुण प्रदेशको ठेट मारुनी शैलीमा बनेको छ।
विकाश चौधरीको संगीत रहेको यो गीतलाई चलचित्र निर्देशक गोविन्द गौतमले लेखेका हुन्।गीतमा रामचन्द्र काफ्ले र जुनु रिजालको स्वर छ।
मकवानपुरका विभिन्न स्थानमा छायांकन गरिएको गीतमा दिव्य सुवेदीले क्यामरा चलाएका छन् भने कविराज गहतराजले कोरियोग्राफ गरेका छन्।
भिडियोमा ४० पुरुष र ४० महिलाको कोरस नृत्यमा नायक दिलीप रायमाझी र गायिका/नायिका जुनु रिजालले साथ दिएका छन्। फिल्ममा दिलिप रायमाझी र जुनु रिजालसँगै निर्जन थापा, सुशान्त कार्की, सुरविना कार्की, रजनी केसी लगायत कलाकारले अभिनय गरेका छन्।
फिल्म पारिवारिक कथावस्तुमा बनेको निर्माण पक्षले जनाएको छ। गोविन्द गौतमको लेखन तथा निर्देशन रहेको फिल्मको रिलिज मिति केही समयपछि घोषणा गर्ने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।