एजेन्सी– दक्षिण भारतीय अभिनेता कमल हासनले तमिलनाडु राज्यमा सय दिनभित्र चुनाव भए आफू पनि प्रतिस्पर्धामा उत्रने बताएका छन्।
टाइम्स अफ इन्डिया समूहको आर्थिक दैनिक इकोनोमिक टाइम्सले दक्षिण भारतीय सुपरस्टार हासनले पहिलोपल्ट राजनीतिको मैदानमा उत्रने प्रस्ट संकेत दिएको उल्लेख गरेको छ।
अहिलेसम्म राजनीतिमा प्रवेश गर्छु भनेर कहिल्यै नभनेका हासनले टाइम्स नाउसँगको अन्तर्वार्तामा कुनै पनि राजनीतिक दलसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताएका छन्।
उनले आफू सबै दलसँग सहयोगका लागि तयार रहे पनि कसैसँग गठबन्धन नगर्ने बताए। उनले भने, ‘म कसैसँग सहकार्य गर्दिनँ, एक्लै अघि बढ्छु।’
हासनको गृहराज्य तमिलनाडु र त्यहाँको सत्तारुढ दल एआइएडिएमके (अल इन्डिया अन्ना द्रविड मुनेत्र कगडम) भित्र जयललिताको मृत्युपछि चलिरहेको झगडाबारे हासनले भने, ‘यो जबरजस्ती गरिएको बिहे हो। बेहुली (तामिल जनता) यो बिहेबाट सम्बन्धविच्छेद गर्न चाहन्छन्। यदि सय दिनभित्र चुनाव भए म राजनीतिमा प्रवेश गर्छु।’
हासन हिन्दी फिल्ममा समेत निकै रुचाइएका दक्षिण भारतीय अभिनेता हुन्। सन् १९५४ नोभेम्बर ७ मा जन्मेका उनको वास्तविक नाम श्रीनिवासन पार्थसारथी हो। उनी तमिल फिल्म अभिनेता मात्र नभएर फिल्म निर्माता÷निर्देशक, गीतकार, गायक, नर्तक र समाजसेवी पनि हुन् ।
एक दुजे के लिये, सागर, गिरफ्तार, ये तो कमाल हो गया, राजतिलक, अप्पु राजाजस्ता हिन्दी फिल्ममा आफ्नो छाप छाडेका हासनले नायकन, इन्डियन, विश्वरुपम्, दशावतारम्, हे राम, अभय लगायत अनेकौं चर्चित फिल्ममा चरित्र निर्वाह गरेका छन्।
तीन राष्ट्रिय पुरस्कार विजेता हासनले पद्मश्री र पद्म भूषण पनि पाएका छन्। उनका दुई छोरी श्रुती हासन र अक्षरामध्ये श्रुती पनि तमिल र हिन्दी फिल्ममा परिचित नाम हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।