नेपाली साहित्यमा निबन्ध लेखन कतातर्फ गइरहेको छ?
पाठक र समीक्षकमाझ चिन्ता र चिन्तनको विषय बनिरहेको छ यो। नेपाल लिट्रेचर फेस्टिबलको तेस्रो सेसनको बहस ‘मुर्झाएको निबन्ध’ मा लेखक तथा समीक्षकले निबन्धबारे चिन्ता व्यक्त गरेका छन्।
चेतना प्रवाहको विषयमा थेसिस गरेकी कवि तथा निबन्धकार गीता त्रिपाठीले राजनीतिक परिवर्तनको यो संघारमा पाठक नै अलमलमा परिरहेको बताइन्।
‘निबन्ध मुर्झायो भनिहाल्नचाहिँ मिल्दैन। प्रविधिका कारण संस्कृति छुट्दै गइरहेको परिवेशमा एउटा टुंगोमा पुग्नु ठीकै होला। सबै कुरा मिसिएर निबन्ध बन्नुपर्छ। तर अहिले चिन्ताको निबन्धमा कमी भएको छ’, त्रिपाठीले भनिन्, ‘यो समय लेखन र जीवनका लागि उत्तम थिएन।’
जीवन गुजारा गरिरहेको लेखकले निबन्धको बाटो पक्रिन नसकेको उनको तर्क थियो।
निबन्ध बौद्धिक कुरा भएकाले अहिले निबन्धमा वैचारिकताको कमी भएको उनले बताइन्। अहिले आत्मकथा र भूमिका लेखिँदै आइरहेकाले निबन्धलाई कमजोर बनाएको उनले बताइन्।
कवि तथा निबन्धकार रोशन शेरचन भने निबन्ध धेरै हाँगाबिँगाको रुख भएको बताउँछन्।
‘म वस्तुपरक निबन्ध नजिक मान्छु। म निबन्ध पढ्छु र लेख्छु। पछिल्लो समय जुनसुकै विधामा पुनर्लेखनको महत्व बुझेको हुनाले स्वस्फूर्त लेखन कम भएको हो कि,’ उनले चिन्ता व्यक्त गरे।
कवि तथा निबन्धकार रमेश सायन भने निबन्ध लेख्नुको आफ्नो परिवेश भिन्न रहेको बताउँछन्। आफ्नो कुरा भन्नका लागि आफूले निबन्ध लेखेको उनको दाबी थियो।
‘बौद्धिक र वैचारिक कुराहरू म जान्दिनँ। जतिबेला मेरा कुरा सुनाउन चाहन्थेँ। त्यो बेला मेरो पहुँच थिएन। मेरो कुरा भन्न मैले ब्लग लेखेँ। बिस्तारै–बिस्तारै मलाई पढ्न थाले। त्यसको म पाठकलाई के मनपर्छ त्यही शैलीमा लेखेँ। १०⁄१५ हजार भ्युज जान थालें। ब्लगको पहुँचबाट साथीहरूले छाप्न थाले। दुःख र मिहिनेत गरेको छु त्यो मिहिनेतलाई मैले कसरी छाड्न सक्छु। अनि ब्लग मेटाएर किताब निकालेँ,’ रमेशले आफ्नो कथा भने।
रमेशको भनाइभन्दा फरक मत राख्छन् कवि तथा निबन्धकारद्वय गीता त्रिपाठी र रोशन शेरचन।
निबन्धलाई कुण्ठा बोक्ने विषय बनाइरहेको त्रिपाठीको मत छ। यसरी लेखकको दायित्व छुट्दै गइरहेकोमा उनी चिन्ता प्रकट गर्छिन्।
निबन्धमा कला, सिनेमा संगीत लगायतका अन्य विधाका तत्वहरू अन्तर्घुलित भएर आउनुपर्ने शेरचन बताउँछन्।
‘वैचारिकता अहिलेको निबन्धमा आउनुपर्छ। सबै कुरा निबन्धमा कलात्मक तबरले समेटिनु पर्छ,’ शेरचनको भनाइ थियो।
पत्रिकामा छापिएका लेखलाई नै निबन्धको रुपमा पुस्तकमा छापिने प्रचलन रहेको पत्रकार विमल आचार्यको प्रश्नमा वक्ताहरू सहमत देखिए।
मेरो लेखनबाट घाटा लागे सजाय भोग्छुः सायन
लेखक सायनले आफ्नो निबन्ध लेखनबाट निबन्धलाई घाटा लागे सजाय भोग्न तयार भएको बताए।
‘म यति सामान्य मान्छे हुँ। मेरा कुरा यति छन् लेख्नका लागि। काव्यात्मक शैलीमा पाठकलाई आफ्ना कुरा भन्न सकिन्छ भन्ने मलाई लाग्यो। हामी अरुतिर फर्कियौं भने हामी आफू छुट्दो रहेछौं। समाजको सिंगो चित्र मैले लेख्ने आँखाबाट आउँछ। मैले मेरो कुरा लेख्न सकिनँ भने मेरो कुरा आख्यानको पात्रले लेख्छ,’ उनले भने, ‘किताब आएपछि धेरैले भने क्या इमान्दार भएर लेखिस् भनेर। संसार कति झुट बाँच्दो रहेछ। मैले त मेरो जीवनको एक अंश पनि लेखेको छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।