काठमाडौं- नेपालले तेस्रो पटक दक्षिण एसियाली खेलकुद (साग)को आयोजना पूरा गर्यो। २०४१ सालमा पहिलोपटक साग आयोजना गरेको नेपालले २०५६ सालमा आठौं साग आयोजना गरेको थियो। यसपटक १३औं साग पहिलेको दुई आयोजनाभन्दा सफल रहेको बताइएको छ।
नेपालले जितेको ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदकका साथै उद्घाटन र समापनको दिन रंगशाला परिसरको झिलिमिलीले पनि साग सफल नै देखिन्छ।
त्यसमा ‘जित्नेका प्रधानमन्त्री’ केपी शर्मा ओलीले विजेता खेलाडीलाई बालुवाटारमा भोज गरेर लाखौं रुपैयाँ दिने घोषणा गरिदिएपछि त सफलता अझ उचालियो। जसमा प्रधानमन्त्रीले स्वर्ण जित्नेलाई ९ लाख, रजत जित्नेलाई ६ लाख र कास्य जित्नेलाई ३ लाख रुपैयाँ दिने घोषणा गरे।
प्रधानमन्त्रीले लाखौं रुपैयाँको पुरस्कार घोषणा गरिरहँदा बुझ्नुपर्ने के भने नेपालमा चेस खेलाडी र भारोत्तोलन खेलाडीले पाउने ‘डाइट’ बराबर नै छ। यस्तोमा खेलाडी कसरी खेलिरहेका होलान्? अनि प्रधानमन्त्री जित्नेको मात्र हुन मिल्छ?
१२औं सागमा नेपालले ३ स्वर्ण, २३ रजत र ३४ कास्य पदक जित्दा राष्ट्रिय खेलकुद परिषद (राखेप) का तत्कालीन सदस्य सचिव केशव कुमार विष्टले साग सहभागिता सफल भएको सुनाउँदै भनेका थिए- ‘पहिले पहिले नेपालले झोलामा पदक लिएर आउँथ्यो अहिले त बोरामा नै लिएर आएको छ, स्वर्ण मात्रै पो कम हो।’
त्यही भनाइलाई विचार गर्ने हो भने त अहिले बोरामै पदक हाल्दा पनि ठूलै बोरा चाहिन्छ। त्यही सोचको निरन्तरताले होला यसपटक नेपालले जितेका ५१ स्वर्ण पदकलाई केन्द्रमा राखेर साग पहिलेभन्दा सफल भएको भनिएको छ। तर, व्यबस्थापनका अन्य पाटाहरु हेर्ने हो भने खेलाडीले जितेका पदकले मात्रै सागको सफलता मापन गर्न भने मिल्दैन।
पदक नै हेर्दा पनि यसपटक ३ सय १६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो। यसैले नेपालमा आयोजना भएका पहिलेका दुई सागको तुलनामा धेरै स्वर्ण आउनु राम्रो हुँदाहुँदै पनि स्वभाविक नै हो। नेपालको कमजोर खेल व्यवस्थापन र सुविधाविहीन खेलाडी हेर्दा सोचिए भन्दा धेरै पदक आएकाले पनि साग सफल भएको भन्नु उचित देखिँदैछ।
तर, पहिलो सागमा पाँच खेलमा गरेर ६२ स्वर्ण पदकका लागि मात्र प्रतिस्पर्धा भएको थियो। त्यसमा नेपालले एथ्लेटिक्समा एक, बक्सिङमा दुई र फुटबलमा एक गरेर चार स्वर्ण पदक जितेको थियो। त्यसबेला नेपालले १२ रजत र आठ कास्य पदक जितेको थियो।
नेपालमा दोस्रो पटक आयोजना भएको आठौं सागमा १२ खेलमा गरेर १ सय ६१ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो। जसमा नेपालले ३१ स्वर्ण पदक जितेको थियो। बक्सिङमा दुई, करातेमा १४, स्वीमिङमा एक र तेक्वान्दोमा १४ स्वर्ण पदक जितेको थियो। त्यसमा नेपालले १० रजत र २४ कास्य पदक पनि जितेको थियो।
१३औं सागमा यसपटक २६ खेलमा ३ सय १६ स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा नेपालले ५१ स्वर्ण जितेको हो। जसमा करातेमा १०, तेक्वान्दो १२, ट्रायथलन दुई, उसु पाँच, एथ्लेटिक्स तीन, पौडी चार, भारोत्तोलन दुई, गल्फ दुई, कुस्ती एक, बक्सिङ तीन, जुडो दुई र फुटबलमा एक स्वर्ण जितेको हो। यसपटक नेपालले ६० रजत र ९५ कास्य पनि जित्यो।
१३औं सागमा देखिएको खेलाडीको मेहनत र नेपालले पूरा गरेको आयोजनाको जिम्मेवारी सह्रानीय छ। तर, यसलाई भविष्यका लागि अन्य पाटोबाट पनि हेर्नै पर्ने हुन्छ।
औपचारिक रुपमा मंसिर १५ देखि २४ सम्म चलेको साग खेलकुदमा उद्घाटनकै दिनसम्म पनि भौतिक पूर्वाधार निर्माण सकिएको थिएन।
समयमा काम नहुने परिपाटीले पौडी खेल खेलाइएको सातदोबाटो हिटिङ स्विमिङ पुलमा त प्रतियोगिता उद्घाटन भइसक्दा पनि निर्माणको काम चलिरहेको थियो।
उद्घाटनकै आधि घन्टाअघिसम्म दशरथ रंगशालमा पनि सिट बनाइँदै थियो। जुन समापनको दिनसम्म पनि सकिएन।
पोखरामा सञ्चालन भएको भारोत्तोलन ‘अन्तर्राष्ट्रिय मापदण्ड’को भनिँदै पार्टी प्यालेसमा गरियो।
सुटिङमा प्रतिस्पर्धा गरिरहेका नेपाली खेलाडीहरु विदेशी खेलाडीको सामग्री मागेर प्रयोग गर्न बाध्य थिए।
महिला फुटबल खेलाइएको पोखरा रंगशाला स्तरीय नभएको भन्दै भारतीय टिमबाट गुनासोहरु आए। पुरुष फुटबलमा नै पनि लगातार खेल पर्दा आरामको समय नहुने भन्दै खेल तालिका सार्वजनिक हुँदादेखि नै विरोध भयो।
उसुमा सहभागी भारतीय टिम निर्णायकसँगको असन्तुष्टीले पदक अस्वीकारसम्म पनि पुग्यो।
झण्डै पाँच अर्ब खर्च भएको साग आयोजनका अरु भित्री पाटा त अझ देखिँदै जाने छन्। तर अन्तिम दिन रंगशालाको चौरमा फुटबल फाइनलअघि सांसद र संसद सचिवालयका कर्मचारीबीच चलेको ‘एकताको सन्देश दिने’ मैत्रीपूर्ण फुटबलले त चाकरी चलनबारे धेरै कुरा बोल्यो।
दशरथ रंगशालामा टिकट काटेर प्रवेश गर्नु पनि हरेक दर्शकलाई ‘चुनौतीपूर्ण’ बन्यो। फुटबल फाइनल र साग समापन हुने दिन त पत्रकारले प्रहरीको कुटाइ नै खानुपर्यो। त्यसमा पनि साग सुरक्षा समितिको संयोजकमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल रहँदा उनैको नेतृत्वमा खटिएका प्रहरीले दर्शक र पत्रकार भकुरे। सञ्चार माध्यमका लागि छुट्टाइएको सिटको समेत टिकट बिक्री गरियो। सरदर १० हजार टिकट बिक्री गरेर १४ हजार ५ सय जना अट्ने रंगशालाको भर्याङसमेत भरियो।
भारतले सागमा खेलाडी पठाउने बेलादेखि नै यसलाई दिएको कम महत्वले पनि सागको उपादेयता कस्तो हुँदैछ भन्ने प्रश्न देखिएको छ। सागमा सबैभन्दा महत्वका साथ हेरिने पुरुष फुटलमा भारत र पाकिस्तानका टिम नै आएनन्। अझ प्राय खेलमा त भारतले आफ्नो पहिलो रोजाइँका खेलाडी नै पठाएन।
सागमा सहभागी हुन आउन अफगानिस्तानले चासो देखाइरहँदा नेपालले आफ्नो पदक कम हुने देखेर मार्सल आर्टमा सहभागी हुन नदिने भन्यो। जसले अफगानिस्तान आएन। त्यसले दक्षिण एसियाली क्षेत्रको खेल उत्सवको महत्व घटाउने काम नै भयो।
एसियाली खेलकुद सुरु भएको ३३ वर्षपछि बल्ल ‘साफ गेम्स’ अर्थात् सागको जन्म भएको थियो। दक्षिण एसियाली देशका विविध आयामसँग जोडिने साग नियमित नभए पनि विस्तारै आफ्ना आयम थप्दै जाँदा नेपालको सफलता पाकिस्तानमा हुने १४औं सागमा स्पष्ट हुनेछ।
त्यसबेला खेल सुरु हुने दुई दिन अघि तुलसा खत्री जस्ता खेलाडी भविष्यको खोजीमा कतार भागेनन् भने खेलकुदमा नेपालको सफलता केही भए पनि देखिने छ। रंगशालाको झिलिमिलीले तुलसा जस्ता खेलाडीको भविष्य छोपिनु हुँदैन। प्रधानमन्त्रीले घोषणा गर्ने लाखौंको पुरस्कार पनि अभावबीच जुधेर जितिसकेपछि न हो! खेल न हो, यदि हारियो भने?
र अन्त्यमा,
समापनको दिन दर्शकको रमाइलोका लागि गरिएको एक प्रदर्शनको दृश्यले धेरैको मन रमाएन। नाइटिङ्गेल स्कूलका साना नानीहरुलाई आधासरो कपडामा घन्टौं प्रतीक्षामा उभ्याएर रंगशालाको रातको चिसोमा नचाउनु साग समापनको ‘कसिएको अनुशासन’को नमजा थियो। चाहे त्यसपछि १५ सय ड्रोन उडाएर देशप्रेमले ओतप्रोत हुने प्रस्तुति नै दिइएको होस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।