वैदेशिक रोजगार : यौन शोषणको जोखिममा घरेलु कामदार

खाडीमा लगाइएको प्रतिबन्धले ब्यूँतायो अर्को समस्या 
निर्मला घिमिरे | २०७६ मङ्सिर १९ बिहीबार | Thursday, December 05, 2019 ११:१३:०० मा प्रकाशित

काठमाडौं- सिन्धुपाल्चोक जिल्लाकी अप्सरा खड्का (नाम परिवर्तन) को आर्थिक अवस्था ज्यादै नाजुक थियो। सानी छोरी समेत रहेकी अप्सरा छोरी छाडेर वैदेशिक रोजगारमा जाने सोच बनाउँछिन्। 

उनको एक जना दलालसँग भेट हुन्छ। कुवेतमा राम्रो काम र कमाइ भएको भन्दै दलालले उनलाई प्रलोभनमा पार्छन्। कम्पनीको काम र मासिक ५० हजारभन्दा बढी कमाइ हुने सुनाएपछि अप्सराले दलालको सबै कुरा विश्वास गरेर कुवेत जान तयार हुन्छिन्। लगभग २ लाख बुझाएर अप्सरा कुवेत पुग्छिन्। कुवेतमा दलालले सुनाएको काम भन्दा निकै फरक काम गर्नुपर्ने रहेछ। 

काम घर भित्रको थियो। घर मालिकले जेजे भने पनि मान्नु पर्ने अवस्था थियो। 

उनले काम गर्ने घरका मालिकले उनको पासपोर्ट समेत खोसेर राखे। काममा दैनिक १२ घण्टा खट्नु पथ्र्यो। घरमा तथा आफन्तहरुसँग फोन सम्पर्क समेत उनले गर्न पाइनन्। चरम श्रम तथा यौन शोषणको सिकार भएर कुवेतमा काम गरेको ३ वर्ष बितिसकेको थियो। परिवार तथा आफन्तहरुसँग फोन सम्पर्क गर्नलाई अप्सरासँग मोबाइल थिएन। उनको मोबाइल मालिकले खोसेर राखिदिएको थियो। 

३ वर्षसम्म लगातार श्रम तथा यौन शोषणबाट पीडित भएकी अप्सरा सहन नसकेर एकदिन झ्यालबाट हाम फालेर भागिन्। उनको साथमा पासपोर्ट थिएन। पासपोर्ट साथमा नभएकै कारण अप्सरालाई त्यहाँको प्रहरीले समात्यो।

पक्राउ परेपछि उनको राजदूतावाससँग सम्पर्क भयो। अवैध रुपमा समातिएकाले उनलाई कुवेतबाट नेपाल आउन कुवेत सरकारलाई जरिवाना बुझाउनु पर्ने भयो। जरिवानासहित हवाई टिकटका लागि ४ लाख ४० हजार बुझाउनु पर्ने भएपछि दूतावासकै सहयोगमा अप्सराले परिवारसँग सम्पर्क गरिन् र परिवारले ऋण गरेर पैसा पठाएपछि अप्सरालाई नेपाल पठाइयो। 

हाल अप्सरा चेतना अभिवृद्धि केन्द्र (क्याप) नेपालको पुर्नस्थापना केन्द्रमा आश्रित छिन्। अप्सरा जस्तै वैदेशिक रोजगारीका नाममा विभिन्न मुलुकमा थुपै्र महिला कामदारहरु बेचबिखनमा पर्ने गरेका छन्। 
अझ कम्पनीको काम भन्दै घरेलु कामदारका रुपमा पुर्‍याइएका महिला जबर्जस्ती श्रम तथा यौन शोषणमा पर्ने गरेका थुप्रै घटना छन्। 

खाडी मुलुकमा नेपाली महिलाहरूलाई कम्पनीको काम भनेर घरायसी काममा पुर्‍याउने र यौन दासी बनाउने जस्ता आपराधिक क्रियाकलापमा नेपाली दलालहरू नै सक्रिय रहेको पाइएको छ। पछिल्लो समय नेपालबाट भारत र चीन बाहेकका अन्य मुलुकमा मानव ओसारपसार तथा बेचबिखनका घटनाहरू बढ्दै गएको विभिन्न अध्ययनले देखाएका छन्। 

प्रतिबन्धित मुलुकमा जोखिम श्रम, यौन व्यवसाय तथा मनोरञ्जन पेशाका लागि नेपाली महिलाहरूलाई पुर्‍याउने गरेको पाइएको छ। त्यस्तै विकसित मुलुक अमेरिका, युरोप र अष्ट्रेलियामा रोजगारीका लागि समेत मानव तस्करीका घटनाहरू घटिरहेका छन्। 

विश्व बजारकै घरेलु कामदार जोखिममा 
यौन शोषण सम्बन्धी ५औं विश्व प्रतिवेदन (२०१९) ले विश्व यौन बजारको ठूलो हिस्सा आप्रवासी शरणार्थी वा बेचबिखनमा परेका मानिसहरूबाट सञ्चालित रहेको देखाएको छ। उक्त प्रतिवेदनका अनुसार विश्वबजारमा पहिचान भएका मानव बेचबिखनका प्रभावित मध्ये ६७ प्रतिशतलाई यौन शोषण गरिएको देखाएको छ। 

उक्त प्रतिवेदन अनुसार वैदेशिक रोजगारीको विश्व बजारमा आप्रवासी घरेलु श्रमिकहरू सबैभन्दा बढी यौन शोषण तथा बाध्यकारी श्रममा रहेको जनाइएको छ। उक्त प्रतिवेदन अनुसार अफ्रिकी मुलुक तथा एशियाली मुलुकबाट ल्याइएका घरेलु श्रमिकहरु अधिकतम यौन शोषणको शिकार भइरहेका छन्।

नेपालबाट अन्य मुलुकमा हुने मानव बेचबिखनको सवालमा अधिकांश प्रतिवेदन खाडी राष्ट्रतर्पm केन्द्रित हुन्छन्। वैदेशिक रोजगारीका नाममा ती राष्ट्रहरूमा भएको बाध्यकारी श्रम र त्यसका लागि हुने बेचबिखन एक प्रमुख सवाल हो।
तर विश्वका विकसित राष्ट्रहरू संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, अस्ट्रेलिया, क्यानडाका साथै साउथ अफ्रिका, केन्या, सिरिया, ताजकिस्तान, लिबीया, इराक, ओमान तथा अफगानिस्तानमा पनि नेपालीहरुको बेचबिखनको गन्तब्य राष्ट्रको रुपमा रहने गरेको पाइएको छ। 

परम्परागत खाडी मुलुकमा रोजगरीमा जानेसँगै अहिले पोल्याण्ड, ग्रिस, पोर्चुगल जस्ता राष्ट्रमा जानेको संख्यामा बृद्धि  हुँदै आएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ। यसरी विभिन्न मुलुकमा जाने थुपै्र नेपालीहरु श्रम तथा यौन शोषणको जोखिममा पर्ने गरेको पाइएको छ। 

खाडीमा लगाएको प्रतिबन्धले ब्यूँतिएको अर्को समस्या 
खाडी मुलुकमा घरेलु कामदारका रुपमा जाने नेपाली कामदार चरम श्रम तथा यौन शोषणको सिकार भएका घटनाहरु बढेसँगै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको निर्णय अनुसार नेपाल सरकारले विस २०७३ चैत २० गतेदेखि नेपाली कामदारहरुलाई घरेलु कामदारका रुपमा खाडी जान पूर्ण रुपमा रोक लगाएको थियो। 

रोक लगाएपछि झनै अवैधानिक बाटो भारत हुँदै जाने कामदारको संख्या बढेको पाइएको छ। भारतस्थित नेपाली दूतावास र विभिन्न संघसस्थाहरुको पहलमा फर्काइएका भारत हुँदै तेस्रो मुलुक हिडेका महिला तथा पुरुष कामदारहरुसँग प्रतिक्रिया लिँदा पनि खाडीमा घरेलु कामदारका रुपमा जान रोक लगाएसँगै उनीहरु अवैधानिक रुट प्रयोग गर्न बाध्य भएको पाइएको छ। जसले गर्दा पछिल्लो समय मानव तस्करी तथा बेचबिखनका घटनाहरु दिनानुदिन बढिरहेका छन्। 

सरकारले पूर्ण रुपमा घरेलु कामदारका रुपमा खाडी जान रोक लगाएसँगै  घरेलु कामदारका रुपमा कार्यरत सबै श्रमिकहरु परदेशमै अड्किएका थिए। 

आफूले गरिरहेको काम सुरक्षित भएको र पुनः सोही काममा फर्किन नपाउने हुँदा आफूले गरिरहेको काम नसकेको उनीहरुको धारणा थियो। उनीहरुले आफूहरु सुरक्षित रहेकाले सोही काममा आफूहरु फर्कन पाउनुपर्छ भन्दै आवाज उठाउन थालेपछि हाल समितिले सरकारलाई पुनः श्रम स्विकृति खुल्ला गर्न निर्देशन दिएसँगै पुनः श्रम स्वीकृति सूचारु भइसकेको छ। 

अझै फर्कन पाएनन् सबै घरेलु कामदार 
पुनः श्रम स्वीकृति दिँदा पनि घरेलु कामदारकै रुपमा श्रम स्वीकृति लिइ सोही कार्यमा संलग्न भएका तथा रोजगारदाता/कम्पनी परिवर्तन नगरेका श्रमिकहरुलाई मात्रै दिइएको छ। जसले गर्दा कम्पनीका नाममा श्रम स्विकृति लिई घरेलु कामदारका रुपमा कार्यरत रहेका श्रमिकहरुले पुनः श्रम स्वीकृति नपाउने भएपछि उनीहरु अझै नेपाल फर्कन पाएका छैनन्। 

‘म कम्पनीमा काम गर्थे, कम्पनीले राम्रो तलब नदिएपछि म अहिले घरेलु कामदारका रुपमा कार्यरत छु। काम राम्रो छ। नेपाल आउँ भने फेरि यहि काममा फर्कन मिल्दैन। काम नै माया मारेर म नेपाल आउने अबस्था छैन्। फेरि बिदेश आउँदा यस्तै सजिलो काम मिल्दैन’ सिन्धुपाल्चोकका पूर्णबहादुर तामाङ नेपाल लाईभसँग सामाजिक सञ्जालमार्फत बारम्बार गुनासो गरिरहेका छन्।

पूर्णबहादुर जस्ता कम्पनीको नाममा श्रम स्वीकृति लिइ घरेलु कामदारका रुपमा कार्यरत हजारौँको संख्यामा श्रमिकहरु विदेशमै अड्किएका छन्। सरकारले आफूहरुलाई पनि पुनः श्रम स्वीकृतिको व्यवस्था गर्नुपर्ने उनीहरुको भनाई छ। 
नेपालबाट नयाँ श्रम स्वीकृति लिएर घरेलु कामदारका रुपमा खाडी मुलुक जान अझै प्रतिबन्ध छ। 

घरेलु कामदारको बाटो बन्द गर्ने होइन, समस्या केलाएर समाधान गर्ने हो : विज्ञ 
नेपालबाट खाडी जाने श्रमिकहरु मात्रै जोखिममा नभई विश्व श्रम बजारमा घरेलु श्रमिकहरु जोखिममा रहेको विज्ञहरु बताउँछन्। घरेलु श्रमिक समस्यामा परे भनेर उनीहरुको वैधानिक बाटो बन्द नहुने  समस्या केलाएर समाधानका लागि पहल गर्नुपर्ने विज्ञको धारणा छ। 

श्रम विज्ञ डा गणेश गुरुङका अनुसार घरेलु कामदार असुरक्षित भएको भन्दै सरकारले वैधानिक बाटो बन्द गरे पनि नेपाली कामदारहरु भारत हुँदै तथा अन्य विभिन्न भिसा बनाएर घरेलु कामदारका रुपमा खाडी पुगिरहेका छन्। देशमा पर्याप्त रोजगारीका अवसर नहुँदा नेपाली कामदारहरु (खास गरी ठूलो संख्यामा महिला कामदारहरु) खाडीमा घरेलु कामदारका रुपमा विदेशिन बाध्य रहेको श्रम विज्ञ डा गणेश गुरुङ बताउँछन्। 

सरकारले वैधानिक बाटो बन्द गरेपछि अवैधानिक बाटो हुँदै जाने क्रम नरोकिएकाले श्रमिकहरु जोखिममा पर्ने सम्भावना बढ्दै गएको उनको भनाइ छ।

‘उनीहरुलाई सुरक्षित वातावरण कसरी बनाउने भन्ने तर्फ सरकारले सोच्नु पर्छ, गन्तव्य मुलुकहरुसँग समझदारीमै घरेलु कामदारका हक अधिकार र सुरक्षा ग्यारेन्टी गर्नुपर्छ। कामदारको बाटो बन्द गर्न हुँदैन’ श्रम विज्ञ डा गणेश गुरुङले भने। 
घरेलु कामदारमा बन्देजका बावजूद नेपाली कामदारहरू विदेश जानेक्रम बढ्नुले सरकारको निषेधात्मक संरक्षणबादी नीतिको सान्दर्भिकता नरहेको उनको भनाइ छ।

देशभित्रै प्रशस्त रोजगारीका अवसर नहुँदासम्म घरेलु कामदारका रुपमा जाने कामदारको सुरक्षाको ग्यारेन्टीका लागि गन्तव्य मुलुकहरुमा पठाउन पहल गर्नुपर्ने श्रम विज्ञ गुरुङ बताउँछन्। 

पछिल्लो समय घरेलु कामदारका रुपमा खाडी मुलुक जाने नयाँ कामदारहरुलाई श्रम स्विकृति दिन श्रम तथा उपभोक्ता हित समितिले सरकारलाई निर्देशन दिएको छैन। नयाँ श्रम स्विकृतिका लागि नेपाल सरकारले गन्तव्य मुलुकसँग घरेलु कामदारको सुरक्षाको ग्यारेन्टी प्रत्याभूत गराउनु पर्ने समितिले माग गर्दै आइरहेको छ।