काठमाडौं– स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले आन्दोलन फिर्ता लिन गरेको आग्रह नेपाल चिकित्सक संघले अस्वीकार गरेको छ। संघले आफ्ना माग पूरा नभएसम्म अस्पताल बन्दको कार्यक्रम फिर्ता नलिने जनाएको हो। दुई बुँदे माग राखी चिकित्सक संघले शुक्रबारदेखि अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ।
चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले लापरबाहीका कारण अस्पतालमा बिरामीको मृत्यु भएमा डाक्टरले क्षतिपूर्ति दिनुपर्ने भनी मन्त्रिपरिषद्ले गरेको निर्णय फिर्ता र जेल विदआउट बेलको कानुनी व्यवस्था नभएसम्म आन्दोनल नरोकिने बताए। तर, स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले भने मन्त्रिपरिषदबाट त्यस्तो कुनै निर्णय नभएको भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेका छन्।
संघका अध्यक्ष डा श्रेष्ठले निर्णय भएको होइन भनी मन्त्रिपरिषदबाटै औपचारिक पत्र आउनुपर्ने बताए। उनले भने, 'स्वास्थ्य मन्त्रीले भनेर मात्र हुँदैन। यसका साथै जेल विदआउट बेलको कानुनी व्यवस्था हुनुपर्छ। यी दुवै माग पूरा भए मात्रै आन्दोलनका कार्यक्रम फिर्ता हुन्छ।'
मन्त्रिपरिषदले अस्पतालमा लापरबाहीका कारण बिरामीको मृत्यु भएमा डाक्टरले क्षतिपूर्ति दिनुपर्ने गरी विधेयक बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको समाचार बाहिर आएपछि चिकित्सक संघले बुधबार आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।
स्वास्थ्य मन्त्री पोखरेलले भने बिरामी पक्षलाई लापरवाहीका कारण मृत्यु भएको आशंका लागेमा अनुसन्धान गर्ने निकाय बनाउने, लापरवाही ठहरिए क्षतिपूर्तिका लागि पहल गर्ने र सबै स्वास्थ्यकर्मीको बीमा (मालप्राक्टिस इन्सुरेन्स) गर्ने सम्बन्धी विषय व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने भन्ने विषयमा मात्र मन्त्रिपरिषदले निर्णय गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।