काठमाडौं– स्वास्थ्यमन्त्री गिरिराजमणी पोखरेलले लापरबाहीका कारण अस्पतालमा बिरामीको मृत्यु भएमा डाक्टरले क्षतिपूर्ति दिनुपर्ने विषयमा मन्त्रिपरिषदले कुनै निर्णय नगरेको बताएका छन्। मन्त्री पोखरेलले सत्यतथ्य नबुझी हल्लाको पछाडि नलाग्न डाक्टरहरुलाई आग्रह गरे। स्वास्थ्य मन्त्रालयले त्यससम्बन्धी कुनै पनि विधेयक बनाउने तयारी नगरेको उनले जानकारी दिए।
‘बिरामी पक्षलाई लापरवाहीका कारण मृत्यु भएको आशंका लागेमा अनुसन्धान गर्ने निकाय बनाउने, लापरवाही ठहरिए क्षतिपूर्तिका लागि पहल गर्ने र सबै स्वास्थ्यकर्मीको बीमा (मालप्राक्टिस इन्सुरेन्स) गर्ने सम्बन्धी विषय व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने भन्ने विषयमा मात्र मन्त्रिपरिषदले निर्णय गरेको हो,’ मन्त्री पोखरेलले भने।
आफू अशोज २ को मन्त्रिपरिषद बैठकमा नभएका कारण यसबारे बुझ्न केही समय लागेको उनले बताए। मन्त्री पोखरेले कुनै ठोस निर्णय नभएको विषयमा आन्दोलित नहुन, सत्यतथ्य बुझी संवादको माध्यमबाट भ्रम मेटाउन र सही ढंगले अघि बढ्न चिकित्सक संघ तथा सम्पूर्ण डाक्टरलाई आग्रह गरेका छन्।
नेपाल चिकित्सक संघले भने डाक्टरहरुले क्षतिपूर्ति दिनुपर्ने भनी मन्त्रिपरिषद्ले गरेको निर्णय फिर्ता लिनुपर्ने भन्दै अशोज ६ देखि आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।