काठमाडौं– नेपालको रक र पप म्युजिक विकाशमा महत्वपूर्ण योगदान गरेका नेपालकै पहिलो इलेक्ट्रिक गिटारिस्ट बबी पन्तको ७३ वर्षको उमेरमा सिंगापुरमा निधन भएको छ।
उनी विगत ८ महिनादेखि सिंगापुरमा क्यान्सरको उपचार गराइरहेका थिए। पारिवारिक स्रोतले दिएको जानकारी अनुसार बिहीबार बिहान ३ बजे पन्तको निधन भएको थियो। उनको पार्थिव शरीरलाई शुक्रबार थाई एयरलाइन्सबाट काठमाडौं ल्याई पशुपति आर्यघाटमा दाह संस्कार गरिने जेठा छोरा विजय पन्तले नेपाल लाइभलाई जानकारी दिए।
‘पेटमा समस्या भएपछि हामीले उपचारका लागि ८ महिनाअघि सिंगापुर लगेका थियौं। त्यहीँ उपचारका क्रममा उहाँको निधन भएको हो। ७ दिनअघि मात्र उहाँ ७३ वर्षमा लाग्नु भएको थियो,’ विजयले भने।
बबी पन्तको वास्तविक नाम भुवनदेव पन्त हो। तर, उनी नेपाली म्युजिक र खेलकुदमा बबीको नामले चिनिन्थे। लोक गायक कुमार बस्नेतको चर्चित गीत ‘दिउँला यो जोवन तिमीलाई दिउँला’मा उनले नै गिटार बजाएका थिए।
उनले अमेरिकी कम्पोजर चार्ली बोर्डसँग मिलेर भोटेकोशी म्युजिकमा पनि संगीत दिएका थिए। जुन म्युजिक अमेरिकी न्युज च्यानल सिएनएनबाट प्रायः बज्ने गर्दथ्यो। गिटारमा उस्ताद मानिने पन्तको घरमा ८० को दशकमा नेपाली गायकहरुको भीड लाग्ने गर्थ्यो।
पन्तले पूर्व प्रधानमन्त्री कीर्तिनिधी बिष्टको स्वकीय सचिव भएर पनि काम गरेका थिए। उनी भैरहवाको महेन्द्र सुगर मिलमा केही वर्ष कार्यरत रहे। यस्तै हालको थापाथली क्याम्पस स्थापना भएको ठाउँमा जर्मनीले खोलेको टेक्निकल इन्स्टिच्युटमा पनि उनी जागिरे थिए।
पन्तले सन् १९६६ मा बैंककमा आयोजना भएको एसियन गेम्समा नेपालको टेबल टेनिस टिमबाट प्रतिनिधित्व गरेका थिए। ७० को दशकमा पन्तसँगै टेबल टेनिस खेलेका पूर्व टेबल टेनिस च्याम्पियन वाइपी लोहनी भन्छन्, ‘उहाँको नेपाली म्युजिक र खेलकुदमा उत्तिकै योगदान छ। यसले दुवै क्षेत्रमा ठूलो क्षति पुगेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।