तेह्रथुम- गाउँलाई सोह्र फन्को मारेर मध्यपहाडी लोकमार्गको निर्माण हुँदै गर्दा फेदाप गाउँपालिका–२, ओयाक्जुङका ५८ वर्षे गजलाल दुलाल निकै हर्षित थिए। घरछेउ हुँदै गएको लोकमार्गको निर्माणलाई हेर्दा उनलाई त्यतिबेला गाउँको विकासको गति सुरु भएछ भन्ने लागेको थियो तर सडकले विकास होइन उनी जस्ता धेरै किसानको ठूलै विनाश गरिदिएको छ।
नेपाल–भारत सीमा क्षेत्र पाँचथरको चियोभञ्ज्याङदेखि महाकाली नदी बैतडीको झुलाघाटसम्म जोड्ने यो सडक निर्माण गर्दा जिल्लाका सयौँ किसानको खेतबारी पहिरोमा परिणत भएको छ। कतिपय ठाउँमा घरमाथि निर्माण भएका सडकबाट बग्ने पानीले पहिरोको रुप लिएको छ। खेतबारी बीचबाटै निर्माण भएको लोकमार्गले खेतबारी नै बगाउन थालेपछि उनीहरुकोे उठिबास लाग्न थालेको हो। लोकमार्ग निर्माण गर्ने ठेकेदारले सडक निर्माण गर्दा नाली नबनाएकाले बर्खाको भेलबाढी पसाउन आँटेको धान खेतमा पसेर बगर बनाइदिएको दुलालले बताए।
स्थानीयको गुनासो- 'अन्न फल्ने खेतबारी त लग्यो–लग्यो, बास बस्ने घरपाली पनि सडकमै मिसाउने भयो। अब के गर्ने होला?'
साहुको खेत कूतमा रोप्दै आएका दुलालको २१ मुरी धान फल्ने खेतलाई मध्यपहाडी सडकको भेलबाढी पसेर बगर बनाइदिएको छ। परिवार पाल्ने धानखेत सबै बगाएपछि उहाँ अहिले निराश छन्हु। 'खेत सबै बगायो,' बगर बनेको धानखेत देखाउँदै उनले भने, 'साहुलाई कसरी कूत बुझाउने, परिवारलाई के खुवाउने?' १३ जनाको परिवार पाल्ने धानखेत आधाभन्दा बढी बाढीले बगर बनाइदिएपछि उनी चिन्तित छन्। 'लोकमार्गअन्तर्गत नै फराकिलो सडक निर्माण गर्दा थोरै मात्र भएको खेतबारी पनि कटौती भयो, गाउँको विकास हो भनेर मुआब्जा पनि खोजी गरिएन,' ओयाक्जुङकै अग्निबहादुर दर्जीको उस्तै दुखेसो छ, 'अहिले सडककै कारण पहिरोले बाँकी बारी र घरसमेत जोखिममा पारेपछि सुकुम्वासी जस्तै भएका छौं।'
दर्जीको करिब ९ रोपनी जमिन सडक निर्माण गर्दा मासिएको थियो। धान, मकै फल्ने खेतबारीमा सडक बनेपछि परिवारलाई खान, लगाउन समस्या भएको उनले दुखेसो गरे। घरमुनिबाट गएको सडकमा पहिरो चलेकाले बास बस्ने घरपालीसमेत बगाउन आँटेको छ। 'अन्न फल्ने खेतबारी त लग्यो–लग्यो,' पहिरोले बगाउन आँटेको घरतर्फ देखाउँदै उनले भने, 'बास बस्ने घरपाली पनि सडकमै मिसाउने भयो। अब के गर्ने होला?'
लोकमार्गले विकास होइन विनाश ल्याएको उनको बुझाइ छ। घरको करेसालाई छोएर गएको मध्यपहाडी लोकमार्गमा आएको पहिरोले सोही गाउँका ३६ वर्षीय लालबहादुर श्रेष्ठको पनि धान फल्ने तीन रोपनी खेत पुरिदिएको छ। सडक निर्माणताका पनि आफूहरूको धेरै जमिन कटानमा परेको र निर्माणपछि पनि बर्खाको भलबाढी व्यवस्थित नगर्दा पाक्न आँटेको अन्नबाली सबै बगाएको श्रेष्ठले बताए। गाउँ माझबाट आएको लोकमार्ग निर्माण गर्दा मुआब्जा दाबी नगरेका यहाँका धेरै किसानले सडककै लापरबाहीका कारण आफूहरूको उठिबास भएको भन्दै अहिले मुआब्जा दाबी गरिरहेका छन्।
सडक निर्माण गर्ने ठेकेदारले ठूला मेसिन प्रयोग गरी सडक खनेको र छेउभित्तामा वाल, टेवा, पर्खाल, ड्रेनलगायत निर्माणमा ढिलाइ हुँदा सडक दायाँ–बायाँको हजारौँ रोपनी खेतीयोग्य जमिन पहिरो र बगरमा परिणत भएको छ। मध्यपहाडी लोकमार्ग आयोजनाले सडक निर्माण गर्दा सडकले ओगटेको जमिनको पनि मुआब्जा नदिएको र निर्माणपछि पहिरो र बाढीले पुर्याएको क्षतिपूर्तिसमेत नदिँदा यहाँका धेरै किसान मारमा परेको स्थानीय एवं पूर्वजिविस सदस्य अम्बिकाप्रसाद दुलालले बताए। लोकमार्ग निर्माण गर्न ठेकेदार कम्पनीले गुणस्तरहीन काम गरेकाले जताजतै पहिरो बगिरहेको स्थानीयवासीको आरोप छ।
यसपालिको वर्षाका कारण लोकमार्गको तेह्रथुम खण्डमा मात्र सयौँ ठाउँमा पहिरो खसेको स्थानीयवासीको भनाइ छ। अधिकांश ठाउँमा सडक निर्माण गर्दा नाली व्यवस्थापन पनि सँगसँगै नहुँदा बर्खामा परेको पानी जम्मा भएर सडक बीचमै खोल्सीसरह बनेपछि बढी क्षति गरेको इसिबुका पुरुषोत्तम तिम्सिनाले बताए। लोकमार्गको बाटो निर्माण गर्दा बसोबास गरिरहेको घर परेमा मात्र ‘थोरै–धेरै’ मुआब्जा दिने र जग्गा जमिनको मुआब्जा दिने नीति नरहेको आयोजनाले जनाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।