काठमाडौं- लोक-रक ब्यान्ड नेपथ्यले दक्षिण कोरियाको राजधानी सिओलमा सांगीतिक प्रस्तुति दिने भएको छ।
यसअघि चार पटक सिओलमा उपस्थिति जनाइसकेको ब्यान्डले यसपाली प्रसिद्ध ओलम्पिक पार्कमा रहेको ओलम्पिक हलमा असोज १८ गते (अक्टोबर ४) प्रस्तुति दिँदै छ । कोरियाको सबैभन्दा ठूलो पर्व ‘छुसक’को अवसर पारेर त्यहाँस्थित ‘कास्की परिवार’ले कन्सर्ट आयोजना गरेको हो।
सन् १९८८ को ओलम्पिक आयोजनाका निम्ति निर्माण गरिएको ओलम्पिक पार्कको हललाई कोरियाली सरकारले सन् २०११ मा कन्सर्ट हलका रुपमा पुनःनिर्माण गरेको थियो । सो हलमा डिप पर्पल, जुदास प्रिस्ट, मराया क्यारे र एयर सप्लाइ जस्ता विश्वप्रसिद्ध सांगीतिक समूहहरुले आफूलाई उभ्याइसकेका छन्।
ब्यान्डका मुख्य गायक अमृत गुरुङ भन्छन्, ‘नेपथ्य स्थापनाको २५औं वर्ष मनाइरहेका बेला सौलमा पाँचौं सांगीतिक प्रस्तुतिका लागि जान पाउँदा असाध्यै खुसी लागेको छ।’
यस्तै, ब्यान्डलाई प्रवर्द्धन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठले यसअघि केबिएस एरेनामा आफूलाई प्रस्तुत गरेको नेपथ्यले यसपाला झन् ओलम्पिक हलमा उभिने मौका पाएकोमा गर्व लागेको बताए।
नेपाली संगीतमा समर्पित भएको रजत उत्सवका अवसरमा नेपथ्यले यो वर्षभरि निरन्तर म्यूजिक भिडियो रिलिज गर्दै आएको छ । ब्यान्डले केही समयअघि मात्रै अस्ट्रेलिया र न्यूजिल्यान्डको सांगीतिक भ्रमण सम्पन्न गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।