नेपाली हास्य क्षेत्रमा परिचित नाम हो–जितु नेपाल। उनको रमाइलो पक्ष, उनी कुनै स्टेजमा पुग्नेबित्तिकै दर्शकहरू हाँसिदिन्छन्। 'जिरे खुर्सानी'बाट चर्चामा आएका उनी पछिल्लो समय ठूला ब्यानरका फिल्महरूमा व्यस्त छन्।
नेपाल लाइभको स्टुडियोमा दर्शक हँसाउने जितु संवादको क्रममा भावुक भए। सधैँ अरुलाई हसाउने मान्छे कहिलेकाँही रुन्छ कि नाई? हामीले उनीसँग जिज्ञासा राख्यौँ।
जवाफमा उनले भने, ‘मैले जिन्दगीमा जति दर्शक हसाएँ त्यति म कहिल्यै हाँसेकै छैन। बेला बेला एकदमै पीडा हुन्छ। मेरा यस्ता पनि दिन थिए, जब म लामो समय स्टेज पछाडी रोएपछि स्टेज पुगेर दर्शक हसाउँथे।’
करिब ४/५ वर्षअघि। तिहारको बेला थियो। नारायण घाटमा एक्लै गाडी ड्राइभ गरेर एउटा कार्यक्रमम गएका थिए जितु। कार्यक्रमपछि उनले श्रीमतीलाई कल गरेर साँझ आफू घर आउने बताए।
माजिनटार भन्ने ठाउँमा कार्यक्रम थियो। १२ बजेतिर पुगे उनी। उनको स्टेजमा जाने पालो भयो। उनको कमेडी हेर्न करिब ३ हजार मान्छेको लहर थियो।
स्टेजमा जाने बेलामा मोबाइल अफ गर्ने जितुको बानी छ। अफ गर्नमात्रै के लागेको थिए एउटा नम्बरबाट फोन आयो। उनी बोले। उताबाट आतिँदै एउटा मान्छेले भन्यो, ‘तपाईंको मान्छे दुर्घटनामा पर्नुभएको छ। तपाईंको नम्बर दिनुभएको। उहाँलाई बिएण्डबी लगिएको छ तुरुन्त आउनुपर्यो।’
जितुले आतिँदै भने, ‘कोे... को?’
‘तपाईंको श्रीमती हुनसक्छ,’ उताबाट बोल्यो।
जितुको होस हवास उड्यो। ठूलो प्रकोप आइलाग्यो। ‘लगत्तै दाइहरूबाट थाह पाएँ। मेरो मिसेस दुर्घटनामा परिछन्। उताबाट छिटो आइज भने,’ जितुले सुनाए।
स्टेजमा पस्नै लागेका उनी एकाएक रोकिए। शीर गह्रुंगो भयो। आँखा रसायो। उनको अनुहारको भाव पढिनसक्नु भइसकेको थियो त्यतिबेला।
‘आयोजकलाई मेरो पालोमा अरु गायकलाई टाइम दिनु भनेर एकछिन बसेँ। पछि सामान्य अवस्था छ भनेर खबर आएपछि मात्र ढुक्क भएँ।’
त्यतिबेला पर्दा पछाडि आँसु पुछेर उनी स्टेजमा गए। 'जब म स्टेजमा गएँ, मैले सयौं दर्शक हसाउँन सफल भएँ। सायद त्यो मेरो प्यासन र खुबी थियो,’ जितुले भने।
बुबाको निधन हुँदा पनि जितुलाई एकदम पीडा भएको थियो। ‘बुबाको मत्यु भएको १३ दिनपछि नै मैले हसाउँन थालेँ। त्यो मेरो बाध्यता नै थियो। जतिबेला म आफू नै ठूलो पीडामा थिएँ।’
जितुलाई कसैले केही भन्दैमा बिझाइहाल्छ। छिट्टै आँसु आउँछ जितुको।
उनी एकपल्ट अमेरिका गएर दुई महिना बसे। एयरपोटमा उनलाई लिन उनको छोरी र श्रीमती बसिरहेका थिए। उनी धेरै पछि घर आउँदा खुसीमिश्रत भावमा थिए। तर उनीसँगै दुईटा लास बाकसमा आउँदा उनको मुटु थामिएन। उनी भक्कानिए।
कहिलेकाहीँ हसाउँदा हसाउँदै पनि भावुक हुन्छन् जितु।
‘एकपल्ट अनुराधा दिदीले एउटा बिरामी देखाइन्। एउटा छोरीलाई एचआइभी लागेको रैछ। उनी अन्तिम स्थितिमा रहेछिन्। मैले मलाई देख्यौ भनेर सोधेँ। ‘मुन्द्रे अंकल,’ सानो आवाजमा बच्चीले बोलाउँदा भन्दा म आफैं भक्कानिएँ। आँसु नथामिएपछि म अर्को कोठामा गइहालेँ,’ जितुले भावुक हुँदै भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।