



मुम्बई– सीमा राठौर, भारतीय टेलिभिजन सिरियलकी चर्चित अनुहार। जसको बाल्यकाल नेपालमा बितेको थियो। भारतीय टेलिभिजनमा ‘मिर्ची भावी’को उपनामले चर्चित बनेकी उनै राठौरसँग केही समयअघि मुम्बईस्थित उनकै अपार्टमेन्टमा भेट्ने अवसर जुर्यो।
पहिलो भेट्मै उनले आफूलाई पनि नेपाली भनेर आत्मीयता देखाइन्। भारतीय टेलिभिजनमा छुट्टै छाप छोड्न सफल टेलिभिजन शृंखलाहरु ‘भावीजी घर पर हे’, ‘निली छत्रीवाले’, ‘मे आई कम इन?’, ‘लापतागञ्ज’ र ‘तारक मेहताका उल्टा चश्मा’ मा उनले आफ्नो अभिनयले सबैलाई लठ्याइसकेकी छिन्।
सिरियलमा आफू मुर्ख भएर अरुलाई हसाउँने कलाको दर्शकहरु ‘फ्यान’ नै बनिसकेका छन्। भारतीय टेलिभिजनमा स्थापित यिनै कलाकारको जीवनको महत्वपूर्ण दिन काठमाडौंमा बितेको थियो।
उनको जन्म भारतको छत्तिसगढमा भएको हो। तर, बाल्यकालमै उनी आफ्नो बुवा–आमासँग नेपाल आएकी थिइन्। उनीसँग अहिले मुम्बईमा नाम र दाम दुवै छ। भारतको टेलिभिजन उद्योगमा उनलाई सबैले इज्जत गर्छन्। तर पनि उनी नेपाल र नेपालीहरुको कोमल व्यवहारबाट कायल छिन्।
उनी नेपालीहरुले आफूलाई देखाउने अपनत्व अन्य कसैले नदेखाएको हाकाहाकी बताउँछिन्। ‘नेपालीमा जस्तो सामाजिक भावना मैले यहाँ देखेको छुइन। यहाँ प्रायः सबै स्वार्थी छन्,’ उनले भनिन्।
सीमाले ४ कक्षादेखि नै काठमाडौंमा अध्ययन गरेकी थिइन्। त्यसैले उनी भारतीय मूलको भए पनि आफूलाई नेपाली भन्न रुचाउँछिन्। ‘म अहिले पनि बाल्यकालका साथीहरु सम्झिन्छु। काठमाडौंमा बिताएको दिनहरु धेरै नै ‘मिस’ गर्छु,’ उनले भनिन्।
मुम्बईको बोरिवलीस्थित भारतावाज अपार्टमेन्टमा उनीसँग गफिँदा हरेकपल्ट काठमाडौंमा बाल्यकालमा बिताएको समयको प्रसंग निकालिहाल्थिन्।
‘हेर्नुस् म त आस्तिक मान्छे। पूजा गर्न नाङ्गो खुट्टा पशुपतिनाथ पुग्थें। भोकै स्वयम्भूनाथको दर्शन गर्न पनि जान्थे,’ उनले भनिन्।
सीमाले २००९ मा लापत्तागञ्जबाट भारतीय सिनेमामा पाइला टेकेकी थिइन्। अहिले उनी निकै मोटी छिन्। तर, किशोर अवस्थामा नेपालमा हुँदा आफू निकै दुब्लो रहेको बताइन्। ‘साथीहरुसँग कहिले घुम्न गोदावारी, कहिले बुढानीलकण्ठ गइरहेको हुन्थेँ,’ उनले भनिन्।
भारतीय टेलिभिजनमा काममा व्यस्त हुँदा नेपाल जान नपाएको थुप्रै भएको उनले बताइन्। र, सोधिन्, ‘आजकल काठमाडौं कस्तो भएको छ?’ उनी न्युरोडमा पुगेर तितौरा खाएको दिनहरु निकै ‘मिस’ गर्दि रहिछिन्।
उनी अहिले टेलिभिजन सिरियलमा हँसाउन सक्ने क्षमता आफूले सफलतापूर्वक प्रदर्शन गर्न सक्नुमा काठमाडौंमा बस्दाको माहोल र परिवेश महत्वपूर्ण भएको बताउँछिन्। ‘काठमाडौं बस्दा विषय बुझ्ने जुन किसिमको कला मैले सिकेँ, यो अहिले मलाई करिअर अगाडि बढाउन काम लागिरहेको छ,’ उनले हाँस्दै भनिन्।
सीमाले २३ वर्षको उमेरमा विवाह गरेकी थिइन्। तर, त्यो सम्बन्ध लामो टिक्न सकेन्। १० वर्षपछि उनीहरु छुट्टीएका थिए। केही समय डिप्रेसनको सिकार पनि भएकी सीमाको शरीरको तौल त्यसपछि बढ्न सुरु भएको हो।
‘काठमाडौंमा हुँदा यति धेरै खाइँदैन्थ्यो। फेरि खाना पनि शुद्ध हुन्थ्यो। अहिले पेटु भएकी छु। खुब खानुपर्छ मलाई,’ उनले भनिन्। उनलाई फेरि एकपल्ट नेपाल आउन मन रहेछ। सानोमा काठमाडौंको गल्ली गल्लीमा घुमेको पुरानो याद ताजा बनाउन।
छुट्टिने बेला भन्दै थिइन्, ‘अहिले त काठमाडौंमा पनि भिडभाड बढ्यो होला हगि?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।