काठमाडौं- सर्वाधिक सक्रिय, ऊर्जावान् र गतिशील उमेर समूहलाई तरुणका रुपमा परिभाषित गरिन्छ। तरुण मूलतः बालिग भइसकेपछि ४० वर्षअघिको अवस्थालाई मानिन्छ।
संयुक्त राष्ट्र र विश्व बैंकले १५ देखि २४ वर्षको उमेर समूहलाई युवा मानेको छ। यद्यपि नेपालको सन्दर्भमा भने अलिक फरक उमेर समूहलाई युवा समूह मानिएको छ। राष्ट्रिय युवा नीति २०७२ ले १६ देखि ४० उमेर समूहलाई युवाका रुपमा परिभाषित गरेको छ। सर्वाधिक सक्रिय रहने यसै उमेर समूहका व्यक्तिहरूलाई दलहरूले संगठित गर्दै आएका छन्।
नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलको जन्म अन्य दलका युवा संगठनभन्दा अघि भएको थियो। युवाहरूको मुलुककै जेठो संगठन तरुण दलको जन्म ६६ वर्षअघि भएको थियो।
कांग्रेसका संस्थापक नेता तथा तत्कालीन सभापति बिपी कोइरालाले युवाहरूलाई कांग्रेसमा एकत्रित गर्न विस २०१० कार्तिक १० गते तरुण दल बनाएका थिए। संस्थापक अध्यक्षमा सिंहध्वज खड्का चयन भएका थिए।
तरुण दलसँग नेपाली राजनीतिको ऐतिहासिकता पनि जोडिएको छ। विस २०१७ पुस १ गते तत्कालीन प्रधानमन्त्री बिपीले तरुण दलको कार्यक्रमलाई सम्बोधन गर्दैगर्दा राजनीतिक ‘कु’ गरिएको थियो। तरुण दलको पहिलो महाधिवेशनको उद्घाटन सत्रबाटै बिपी पक्राउ परेका थिए। राजा महेन्द्रले सेनाको बलमा प्रधानमन्त्री बिपीलाई त्यसै मञ्चबाट पक्राउ गरे। राजा महेन्द्रले बाल्यकाल (सात वर्ष) को तरुण दललाई अघि बढ्न दिएनन्।
दलहरूमा प्रतिबन्ध लगाएपछि भ्रातृ संस्थाको सक्रियतामा पनि स्वतः प्रतिबन्ध लाग्यो। पञ्चायती व्यवस्थाको प्रारम्भसँगै निस्क्रिय भएको तरुण दल बहुदलीय व्यवस्थाको पुनर्बहाली भएपछिका सुरुवाती वर्षमा सक्रिय हुन सकेन।
सात वर्ष क्रियाशील भएर पञ्चायतको कब्जामा पुगेको संगठन २०५४ मा पुनर्गठन भयो। अर्थात् ३७ वर्षपछि तरुण पुनः क्रियाशील हुने अवस्था बन्यो। विसं २०५४ कार्तिकमा नेपालगञ्जमा भएको कांग्रेसको महासमिति भेलाबाट संगठनले पुनर्जीवन प्राप्त गर्यो।
तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले बालकृष्ण खाँणको नेतृत्वमा तरुण दल पुनःस्थापनाको घोषणा गरेका थिए। खाँणलाई नै अध्यक्ष बनाउनुको कारण भने त्यसअघि उनी नेविसंघको सभापति बनिसकेकाे आधारले थियो। देशव्यापी सञ्जाल भएको नेविसंघबाट आएका युवाहरूलाई एकत्रित गर्न सहज हुने पार्टीको परिकल्पना थियो। साथै, संघबाट आएकालाई पार्टीमा निरन्तर आबद्धतता गराइराख्नु थियो।
पुनर्गठन भर्खर गरिएको, देशभर संगठन विस्तारको उर्जा र माउ पार्टीको बलियो ‘ब्याक फोर्स’ले २०५४ देखि २०५७ सालसम्मको समयलाई तरुण दलको ‘स्वर्ण यूग’ भनिन्छ।
सभापति कोइरालाले प्रारम्भमा एकल नेतृत्व चयन गरेका थिए। खाँण नेतृत्वको कार्यसमिति विस्तारित हुँदै १४ सदस्यीय बन्यो। मनोनित अध्यक्ष बनेका खाँणले महाधिवेशन गर्न ४ वर्ष लगाए। २०५८ सम्म दोस्राे महाधिवेशन हेटौंडामा गरी खाँण निर्विरोध अध्यक्ष बने र कार्यकाललाई निरन्तरता दिए।
२०५९ मा कांग्रेस फुट्यो। गिरिजाप्रसादको नेतृत्वमा नेपाली कांग्रेस र शेरबहादुर देउवाको नेतृत्वमा नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन भए।
कांग्रेस प्रजातान्त्रिकबाट खाँणको निरन्तरता कायमै रह्यो। मूल कांग्रेस अर्थात् कोइराला सभापति रहेको कांग्रेसबाट महादेव गुरुङलाई तदर्थ कार्यसमितिको अध्यक्ष बनाइयाे। २०५९ को असारमा गुरुङले नेतृत्व सम्हालेका थिए।
उनी एक वर्ष पनि पदमा बसेनन्। त्यसै वर्षको चैतमा पदबाट राजीनामा दिए। २०५९ चैतमा विनोद कायस्थलाई तरुण दलको मनोनित अध्यक्ष बनाइयो। २०६१ मा महाधिवेशन गरी कायस्थले दोस्राे कार्यकाल सुचारु राखे।
कोइराला कांग्रेसबाट कायस्थ अध्यक्ष थिए भने शेरबहादुर देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिकबाट खाँणको निरन्तरता कायमै थियो। २०६४ को साउनमा कांग्रेस प्रजातान्त्रिक निकटको तरुण दलको महाधिवेशन भयो। खाँणले नेतृत्व महेन्द्र यादवलाई सुम्पिए।
२०६४ असोजमा दुई कांग्रेसबीच एकीकरण भयो। भ्रातृ संस्था भागबण्डा गर्ने क्रममा नेविसंघ मूल कांग्रेसलाई पर्यो भने त्यसअघिको प्रजातान्त्रिक कांग्रेसको भागमा तरुण दल पर्यो।
देउवापक्षीय कांग्रेसबाट तरुण दलको अध्यक्ष बनेका यादव एकीकरणपछिको पनि अध्यक्ष बने। २०६८ सालसम्म यादवले महाधिवेशन गर्न नसकेपछि उक्त कार्यसमितिलाई पार्टीले भंग गर्यो।
२०६८ माघमा उदय शमशेर राणालाई तरुण दलकोे अध्यक्ष पार्टीले बनायो। राणाले पनि तीन वर्षमा महाधिवेशन गराउन सकेनन्। ५ वर्षपछि अर्थात् २०७३ को कार्तिकमा चौथो महाधिवेशन बोलाइयो। जीतजंग बस्नेत अध्यक्ष बने।
तरुण दलमा अध्यक्षको हकमा ४५ वर्ष उमेर पार गरेको हुन नहुने व्यवस्था छ। तथापि बस्नेतले उक्त उमेर पार गरिसकेका छन्।
बेथितिको चरम रुप
तरुण दलको इतिहासमा पार्टीको हस्तक्षेपले सर्वाधिक आलोचित महाधिवेशन पोखरा महाधिवेशन बनेको थियो। २०७३ को कार्तिक २७ देखि २९ सम्म बोलाइएको महाधिवेशन लम्बिएर मंसिर २ सम्म पुगेको थियो।
देशभरबाट आएका १२ सय बढी प्रतिनिधिलाई ‘बुख्याँचा’ बनाई पार्टीले हस्तक्षेप गरेको थियो। मूल नेतृत्व मूल ढोकाबाट नल्याई झ्यालबाट ल्याइएको थियो। प्रतिनिधिले आफ्नो नेतृत्व चयन गर्न नपाई ‘निरिह’ बनाइएको थियो।
अध्यक्ष बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, महासचिव भूपेन्द्रजङ्ग शाही र कोषाध्यक्षमा विद्वान गुरुङलाई सर्वसम्मत चयन गरेको भनिए पनि उनीहरुलाई पार्टी गुटबाट ल्याइएको थियो। अध्यक्ष र कोषाध्यक्ष पार्टी सभापति देउवाको समूहबाट ल्याइएको थियो। प्रतिनिधि विवादले आधा दर्जन जिल्लाहरूबाट महाधिवेशनमा सहभागिता जनाएनन्।
उपाध्यक्ष बनेका चापागाईं तेस्राे गुट अर्थात् कृष्णप्रसाद सिटौला समूहबाट हुन्। महासचिव शाही वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट पदाधिकारी बनेका हुन्।
बन्द सत्रले विधान पारित गर्नै सकेन। तरुण दलको इतिहासमा १४–४५–६१ हुँदै आएको केन्द्रीय कार्यसमिति ९५ सदस्यीय बन्यो। तर, हलले अनुमोदन गर्नै पाएन। महाधिवेशन वा पार्टी केन्द्रीय कार्यसमितिले अनुमोदन गरेसँगै विधान लागू गर्ने प्रावधान छ। तर,विधान अनुमोदन भएकै छैन।
दलको ‘गोटी’
बस्नेतको कार्यसमिति पूर्णता नपाउँदै सकिएको छ। कार्तिक मसान्तमा तीन वर्षे कार्यकाल सकिएको हाे। चार जनामा सिमित संगठनको क्रियाशीलता ‘शून्यमा’मा खुम्चिएको थियो।
विगतमा व्यवस्था परिवर्तनका लागि पार्टीको मेरुदण्ड बनेको संगठन प्रभाकारिता कहीँ कतै देखिँदैन। १४ वर्ष तरुण दलमा रहेर कार्य गरेका नारायणप्रसाद भट्टराई भन्छन्,‘सैद्धान्तिक र वैचारिक मन्थन तरुण दलमा हुँदैन। प्रशिक्षण त शून्य छ।’
चौथो महाधिवेशनबाट पार्टीको चरम हस्तक्षेप भोगेको तरुण दलको चौथो कार्यसमिति सर्वाधिक असफल बन्यो। गत शनिबारबाट कार्यकाल सकिएका महासचिव शाहीले भने, ‘पार्टीको मूल नेतृत्वले गतिविधि गर्नै दिएन। अगाडि सारेका कार्यक्रम कार्यन्वयन हुन सकेनन्।’
देशभर संगठन रहेको तरुण दलको केन्द्रले पूर्णता नपाएसँगै थप बेथितिको भार थप्दै कार्यकाल सकिएको छ।
भ्रातृ संस्थालाई आफ्नै विधान अनुरुप परिचालन हुन नदिने कांग्रेसले कार्यकाल सकिएको तरुण दललाई कसरी अघि बढाउला? अरु संगठनको नजिरबाट प्रष्ट हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।