काठमाडौं- दसैं, तिहार तथा छठ पर्वका बेला सुरक्षाका लागि काठमाडौं उपत्यकामा पाँच हजार ४३७ प्रहरी खटिने भएका छन्।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीले चाडबाडको बेला हुन सक्ने चोरी, लुटपाट, झैझगडा जस्ता घटना रोक्न सो जनशक्ति खटाउन लागेको हो।
कार्यालयले आज गरेको पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख एवम् प्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्दले घटना भएको पाँच मिनेटमै घटनास्थल पुग्ने गरी सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिए।
'महत्वपूर्ण प्रतिष्ठान, सपिङ मल तथा बैंकिङ क्षेत्रमा २४सै घन्टा गस्ती, पहरा तथा प्रहरी परिचालन गर्ने प्रबन्ध मिलाएका छौं', चन्दले भने।
कार्यालयले मठ मन्दिर, मेलापर्व, विमानस्थल तथा बसपार्क, होटल तथा गेष्ट हाउस, उपत्यका भित्रिने तथा बाहिरिने नाका, उपहार तथा चिठ्ठाको नाममा हुने ठगीलाई रोक्न विशेष सुरक्षा योजना लागू गरेको छ।
यस्तै, महानगरीय प्रहरीले घरदैलो कार्यक्रम सञ्चालन, सचेतना कार्यक्रम, अन्तक्रिया, नागरिक सुनुवाइ, सामुदायिक प्रहरी परिचालन, सामाजिक सञ्जाल तथा ट्राफिक एफएमबाट जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसैगरी, यात्रुहरु ठगिन नदिन सादा पोशाकमा प्रहरी परिचालन गरिनुका साथै यात्रु सहायता कक्षमार्फत पनि सहयोग पुर्याइने पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।