काठमाडौं- समाजवादी पार्टीले सरकार छाड्नेबारे निर्णय गर्ने जिम्मा पदाधिकारीलाई दिएको छ।
पार्टीको शुक्रबार र शनिबार केन्द्रीय समितिको बैठक बसेको थियो।
'सरकारबारे सबै पक्ष समय ख्याल राख्दै, कहिले कुन तरिकाबाट छोड्ने भन्ने अन्तिम निर्णय गर्ने जिम्मा पदाधिकारीलाई दिएको छ', प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए।
उनका अनुसार राजपासँग गर्ने भनिएको पार्टी एकताबारे पनि कार्यकारिणी समितिले नै निर्णय गर्ने छ।
पदाधिकारी बैठक सम्भवत आइतबार नै बस्ने छ।
पार्टीको संघीय परिषद् बैठक बिहीबार बसेको थियो। सो बैठकमा संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले राजनीतिक प्रतिवेदन पेस गरेका थिए। आफ्नो प्रतिवेदनमा उनले सरकारमा संलग्नताबारे गम्भीर समीक्षा जरुरी रहेको बताएका थिए।
'सरकार र सरकार सम्बद्ध पार्टीसँग वार्ता अगाडि बढाउने, २ बुँदे सहमती अनुरुप संविधान संशोधनका लागि संशोधनको प्रकृया अगाडि बढाउन पहल गर्ने र त्यसलाई कार्यान्वयन गर्ने प्रकृया अगाडि नबढाएमा सरकारबाट बहिर्गमनका लागि पार्टीको कार्यकारिणी समितिले निर्णय गर्ने गरी पार्टी अगाडि बढ्नु पर्दछ', उनले भनेका छन्।
त्यस्तै उनले राजपासँगको एकतालाई छिटो तार्किक निष्कर्षमा पुर्याउनुपर्ने पनि उल्लेख गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।