काठमाडौं– हाँस्य कलाकार तथा समाजसेवी सीताराम कट्टेल (धुर्मुस) ले आफ्नो जन्मदिन पारेर रौतहटका बाढीप्रभावितका लागि 'एकीकृत नमूना सन्तपुर बस्ती'को शिलान्यास गरेका छन्।
चन्द्रपुर नगरपालिका ८ स्थित सन्तपुर गाउँका ४५ बाढी प्रभावितका लागि 'धुर्मुस-सुन्तली फाउन्डेसन'को चौथो परियोजना अन्तर्गतको एकीकृत नमूना सन्तपुर बस्ती शिलान्यास गरिएको हो। आज (बुधबार) बिहान ९ बजे सीताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली) को साथमा बस्तीकै १०७ वर्षीया रामकलिया देवी हजाराले संयुक्त रुपमा नमूना बस्तीको शिलान्यास गरेका हुन्।
फाउन्डेसनका अध्यक्ष धुर्मुसका अनुसार बस्तीको काम असोज ४ गतेबाट सुरु भएर माघ २४ गते हस्तान्तरण हुनेछ।
सन्तपुर गाउँ बाढीबाट प्रभावित र समुदाय पनि पीछडिएका कारण यसै ठाउँमा बस्ती निर्माण गर्न लागिएको धुर्मुसले जानकारी दिए। साथै, सुन्तलीले धुर्मुसले आफ्नो हरेक जन्मदिनमा यसरी नै पुण्य काम गर्दै अगाडि बढ्ने हौसला मिलोस् भन्दै शुभकामना दिइन्।
साथै, बस्ती निर्माणका लागि ५ करोड ७५ लाख रुपैयाँ लाग्ने कार्यक्रममा जानकारी गराइएको थियो। परियोजना अन्तर्गत आवासीय घर ४५ वटा, मन्दिर एउटा, सामुदायिक भवन एउटा, भ्यु टावर एउटा, सार्वजनिक धारा एउटा, सार्वजनिक शौचालय एउटा साथै कम्पाउन्ड सहितको भूकम्प तथा बाढी डुबानबाट सुरक्षित बस्ती निर्माण हुने परियोजना व्यवस्थापक अर्जुन न्यौपानेले जानकारी दिए।
सन्तपुर गाउँमा माझी, मुसहर, दुसाद, लोहार, हजाम जातिका मानिस बसोबास गर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।