कञ्चनपुर- डेल्धुराको परशुराम नगरपालिका– ५ परिगाउँस्थित बहादुरे बजार नजिकै जंगलमा थापेको पासोमा चितुवा फसेको छ।
बँदेललगायत अन्य जंगली जनावरबाट धानबाली बचाउनका लागि स्थानीय कृषकले थापेको पासोमा सोमबार राति चितुवा परेको हो। मंगलबार बिहान पासोमा चितुवा परेको थाहा पाएपछि इलाका वन कार्यालय र प्रहरी कार्यालय तथा इलाका प्रशासन कार्यालय, जोगबुढालाई उनीहरुले जानकारी गराएका थिए।
चितुवा हेर्नका लागि परिगाउँको बहादुरे बजार र जोगबुडाको लालढुंगा बजारमा निकै ठूलो संख्यामा सर्वसाधारणको भिड लागेको थियो। जोगबुडाबाट गएको नेपाल प्रहरी, सशस्त्र प्रहरी र इलाका वन कार्यालयको टोलीले चितुवाको उद्धार गरी नियन्त्रणमा लिएको थियो।
चितुवालाई मंगलबार नै गाडीमा सावधानीका साथ राखी बर्दिया राष्ट्रिय निकुञ्जमा छोडिएको इलाका वन कार्यालय, जोगबुडाका प्रमुख चिरिञ्जीवी थापामगरले बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।