पेरिस– विश्व कीर्तिमानी रकममा यसै सिजन फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) मा आवद्ध भएका ब्राजिलियन स्ट्राइकर नेइमारले क्लबका पुराना खेलाडी इडिन्सन काभानीलाई बेच्न माग राखेका छन्।
फ्रेन्च लिगअन्तर्गत आइतबार राती लियोनविरुद्ध भएको खेलमा पेनाल्टी हान्ने विषयलाई लिएर नेइमार र काभानीबीच मैदानमै विवाद देखिएको थियो। नेइमार पेनाल्टी प्रहार गर्न जाँदा उनलाई मैदानमा रोकेर उरुग्वेका स्ट्राइकर काभानीले हानेका थिए। जुन बल दुर्भाग्यवस गोलमा परिणत हुन सकेन। यो घटनापछि दुवै ड्रेसिङ रुममा पनि झगडामा उत्रिँएका थिए।
स्पेनिस पत्रिका स्पोर्ट्सका अनुसार नेइमारले यस विषयमा क्लबका मालिक नासिर अल खालिफासँग सिधै गफ गरेका छन् र उनले काभानीसँग मिलेर खेल्न असम्भव भएको बताएका छन्। ‘उनले काभानीलाई अन्यत्र सरुवा गर्न माग राखेका थिए’, स्पोटर््सले आफ्नो रिपोर्टमा भनेको छ।
नेइमारको मागपछि पिएसजीका मालिक खलिफा दोधारमा परेका छन्, विश्व कीर्तिमानी खेलाडी र क्लबका स्थापित खेलाडीबीच कसलाई रोज्ने भन्ने कुरालाई लिएर। दुई स्टारबीचको झगडाले क्लबको नतिजामा असर पर्न सक्ने पत्रिकाले जनाएको छ। त्यसैले क्लब मालिक खलिफा यतिबेला नेइमार र काभानीबीच कसलाई रोज्ने असमञ्जसमा परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।