काठमाडौं– साफ यू–१८ च्याम्पियनसिप अन्तर्गत बुधबार नेपाल र आयोजक भुटानबीच प्रतिस्पर्धा हुँदैछ। खेल अपरान्ह पौने ४ बजे सुरु हुनेछ। नेपालका प्रशिक्षक छिरिङ लोप्साङले भुटानलाई उसकै घरेलु मैदानमा पराजित गरेर विजयी सुरुवात गर्ने दाबी गरेका छन्। ‘भुटानलाई घरेलु मैदान र दर्शकको फाइदा छ,’ लोप्साङले भने, ‘पहिलो खेल महत्वपूर्ण भएकाले हामी जितका लागि मैदान उत्रनेछौं।’
भुटानको चाङ्लिमिथाङ रंगशाला कृत्रिम घाँस भएकाले नेपाललाई फाइदा पुग्ने लोप्साङको दाबी छ। ‘भुटानको वातारवण नेपालका लागि सुहाउँदो छ,’ लोप्साङले भने, ‘हामीले कृत्रिम मैदानमा अभ्यास गरेकाले फाइदा पुग्नेछ।
पहिलो खेलमा भुटानले माल्दिभ्सलाई हराएर विजयी सुरुवात गरिसकेको छ। नेपालविरुद्ध दोस्रो खेलमा फरक रणनीतिका साथ मैदान उत्रने भुटानका प्रशिक्षक लिले बताएका छन्।
यो पनि पढ्नुहोस् : साफ यू–१८: नेपाललाई उपाधि रक्षा गर्ने चुनौती, प्रशिक्षक भन्छन्- ‘नेपालको कमजोर पक्ष नै छैन’
नेपाल र भुटानबीच गत संस्करणको च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा भएको थियो। नेपालले भुटानलाई ३–१ ले पराजित गरेको थियो। नेपालका लागि विमल घर्ती मगरले ह्याट्रिक गरेका थिए।
नेपालसँगै आयोजक भुटान, भारत, माल्दिभ्स् र बंगलादेश गरी पाँच टिमबीच राउन्ड रोबिनको आधारमा च्याम्पियनसिपमा प्रतिस्पर्धा हुँदैछ। बढी अंक बटुलेर शीर्ष स्थानमा रहने टिमलाई विजेता घोषणा गरिनेछ।
नेपालका बाँकी खेल
६ असोज – माल्दिभ्सविरुद्ध
९ असोज – बंगलादेशविरुद्ध
११ असोज – भारतविरुद्ध
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।