काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि सहज बनेको काठमाडौं–दिल्ली बस सेवा तस्करीका सामान ल्याउन प्रयोग हुने गरेको पुष्टि भएको छ। तस्कर समूहले यातायात सेवा सञ्चालनमा आएयता महँगा मोबाइल र लत्ताकपडा भारतबाट ल्याउने तथा नेपालबाट अन्य सामग्री लैजाने गरिरहे पनि हालै मात्र दुई घटना बाहिर आएका छन्।
दिल्लीबाट काठमाडौं आएको बसमा मंगलबार लाखौं रुपैया बराबरको भन्सार छली गरेका लत्ताकपडा बरामद भएपछि काठमाडौं–दिल्ली बस सेवा तस्करी एक्सप्रेस बनेको खुलेको हो । अझ काठमाडौं छिर्ने मुख्य नाका नागढुंगाका प्रहरी प्रमुखले नै माथिसम्मको सेटिङ भएकाले गाडी छोड्न आफू मातहतलाई आग्रह गरेको घटनाले तस्कर समूहको पहुँच र प्रभाव माथिसम्म रहेको स्पष्ट हुन्छ।
नागढुंगामा जम्मा पाँच जना यात्रु बोकेर दिल्लीबाट आएको ना५ख १०२ नम्बरको बसका विभिन्न पाटपुर्जामा फल्स बटम बनाएर लाखौंका लत्ताकपडा लुकाएको अवस्थामा प्रहरीले बरामद गरेको थियो। भन्सार तिरेका तीन पोका कपडा छतमा राखेर ल्याइए पनि अन्य लाखौं मूल्य बराबरका सामग्री लुकाएर ल्याइएको भेटिएको हो।
नागढुंगा प्रभागका सई देउबहादुर चन्दले बसमा लुकाउन सकिने सबै पार्टपुर्जामा फल्स बटम बनाएर अवैध लत्ताकपडा ल्याएको बताए। उनले गाडी चालकले पछिल्लो चार वर्षयता यसरी नै तस्करी भइरहेको प्रारम्भिक बयान दिएको बताएका छन्। उनले बस नियन्त्रणमा लिएपछि प्रभाग प्रमुख प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरले बस छाड्न बारम्बार आग्रह गरे पनि आफूले नछाडेको नेपाल लाइभलाई बताए।
‘राति इन्स्पेक्टर सापले कोठामा बोलाएर छाडिदेऊ हामीलाई सहयोग गर्ने मान्छे हुन् भन्नु भो, मैले मानिनँ, उहाँले बारम्बार भन्नु भएको हो,’ सई चन्दले भने। चन्द गत वर्ष भदौ २२ मा मातातीर्थमा डाँका समूहसँग दोहोरो भिडन्त गरी बढुवा पाएका सई हुन्। उनले आफूले इमान्दार भएर काम गरेको र प्रहरी निरीक्षकले दिएको निर्देशनका विषयमा कुनै पनि निकायमा बताउन सक्ने दाबी गरे।
प्रहरी निरीक्षक घर्ती मगर भने आफूले कसैलाई तस्करीमा प्रयोग भएको बस छाड्न नभनेको दाबी गर्छन्। उनले आफूलाई सुरुमा भन्सार तिरेको सामग्री हो भन्ने जानकारी आएको र बस कर्मचारीले रसिद देखाएकाले छाड्न भनेको बताए।
‘मैले कहाँ छाड्न भनेँ, सुरुमा भन्सारको रसिद देखाएपछि फल्स बटममा थुप्रो सामग्री रहेछ, त्यो कहाँ छाड्न भन्छु होला,’ घर्ती मगरले नेपाल लाइभसँग भने।
प्रहरीले बस चालक श्यामसुन्दर नकर्मी र सहचालक रविन्द्रप्रसाद महाजूलाई नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ।
यसअघि भदौ १९ मा महानगरीय अपराध महाशाखाको टोलीले सोही रुटमा चल्ने लुम्बिनी यातायातको ना७ख ३९९५ नम्बरको बसबाट लत्ताकपडासहित एक सय ३४ थान मोबाइल बरामद गरेको थियो। अघिल्लो घटनामा जस्तै लुकाएर तस्करी भइरहेको अवस्थामा महाशाखाको टोलीले बिहान ४ बजे बस नियन्त्रणमा लिएको थियो।
महाशाखाको टोलीले हाल चलनचल्तीमा रहेका लगभग सबै महँगा मोबाइल र काठमाडौंमा चलेका बुटिकमा राखिने लत्ताकपडासहित तीन जनालाई नियन्त्रणमा लिएर भन्सारमा बुझाएको थियो।
महाशाखाका एसपी नरेन्द्र उप्रेतीले यसरी बस मार्फत हुने तस्करीमा ठूलो गिरोहभन्दा पनि साना तस्कर सक्रिय हुने गरेको बताए। उनका अनुसार जीवकोपार्जनका लागि तस्करीमा संलग्न समूह र ठूलो तस्करका कामदार यस्तो काममा संलग्न छन्।
‘मौका अनुसार तस्करी गरिरहेका हुन्छन्, परिमाण सानो हुने र एक–दुई व्यक्तिको संलग्नता भएका कारण अनुसन्धानमा लागिरहन प्रहरीलाई पनि अप्ठेरो छ,’ एसपी उप्रेतीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।