काठमाडौं- निर्वाचन आयोगले मन्त्रिपरिषद् विस्तारको निर्णय सच्याउन सरकारसँग आग्रह गरेको छ।
राज्यमन्त्री थप गरी मन्त्रिपरिषद् विस्तार गर्ने कार्यले निर्वाचनको स्वच्छता, मर्यादा र स्वच्छ प्रतिस्पर्धा कुण्ठित भएको आयोगको ठहर छ। नेपाल सरकारको असोज २ गते दुई राज्यमन्त्री थप गरी ५६ सदस्यीय मन्त्रिपरिषद् बनाएको थियो।
आयोगका प्रवक्ता नवराज ढकालद्वारा जारी प्रेस विज्ञप्तिमा मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय अविलम्ब सच्याउन माग गरिएको छ। 'आचारसंहिता जारी भइसकेपछि भएको सरकारको मन्त्रिपरिषद् विस्तार गर्ने निर्णयबाट निर्वाचनको स्वच्छता, मर्यादा र स्वच्छ प्रतिस्पर्धा कुण्ठित हुने, राज्यका संवैधानिक निकायबीच संवैधानिक दायित्वबमोजिमका शक्ति सन्तुलन तथा पृथकीकरणको सिद्धान्तको अवमूल्यन हुने र निर्वाचन आचारसंहिता प्रतिकूल समेत हुने भएकोले सरकारसँग आग्रह गर्दछ,' विज्ञप्तिमा भनिएको छ।
गत भदौ २६ गते पनि आयोगले मन्त्रिपरिषद् विस्तारले निर्वाचनमा असर पर्न सक्ने जनाउँदै विस्तार कार्य नगर्न सरकारसँग आग्रह गरेको थियो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।