सर्लाही- सर्लाहीको सबैभन्दा विकट क्षेत्रमा पर्ने नारायणखोलाको एउटा मतदान केन्द्रबाट नेपाली सेनाको हेलिकोप्टरबाट मतपेटिका ल्याइएको छ।
लालबन्दी नगरपालिका–१४ मा पर्ने डाइनी दोभान मतदान केन्द्रबाट आज बिहान सेनाको हेलिकोप्टरमा मतपेटिका लालबन्दी नगरपालिकास्थित मतदान अधिकृतको कार्यालयसम्म ल्याइएको हो।
खोलामा बाढी आएपछि पैदल मार्ग अवरुद्ध भएकाले हेलिकोप्टरमार्फत उक्त केन्द्रको मतपेटिका, त्यहाँ खटिएका कर्मचारी तथा सुरक्षाकर्मीलाई लालबन्दी ल्याइएको मतदान अधिकृत बाबुराम अधिकारीले जानकारी दिए।
उक्त मतदान केन्द्रमा जम्मा ८१९ मतदातामध्ये ५८१ मत खसेको मुख्य निर्वाचन अधिकृत सूर्यप्रसाद अधिकारीले बताए।
नारायणखोलाकै मोटर दोभान मतदान केन्द्र (क) र (ख) बाट भने ट्र्याक्टरमार्फत नै मतपेटिका ल्याइएको थियो।
चुरेभेगमा पर्ने नारायणखोला सर्लाही जिल्लाको सबैभन्दा विकट मानिन्छ। त्यहाँ अहिलेसम्म सडक पुग्न नसकेका कारण लालबन्दी बजारबाट पत्थरकोटसम्म सवारी साधनमा र त्यहाँबाट दुई घन्टाभन्दा बढी पैदल हिँडेर नारायणखोलासम्म पुग्नुपर्ने बाध्यता छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।