काठमाडौं– सोमबारबाट भुटानमा सुरु यू–१८ साफ च्याम्पियसिपमा नेपालको लक्ष्य छ, उपाधि रक्षा गर्ने। भुटान उड्नुअघि उपाधि रक्षा गर्ने बताएका नेपाली टोलीका प्रशिक्षक छिरिङ लोप्साङले थिम्पुमा भएको पत्रकार सम्मेलनमा पनि पुरानै कुरा दोहोर्याए।
तर, नेपाली टिमका लागि उपाधि रक्षा गर्न चुनौतीका चाङ छन्। टिममा म्याच एक्सपोजर पाएका खेलाडी छैनन्। अर्कोतर्फ च्याम्पियनसिपअघि नेपाली टिम अभ्यास खेलबाट वञ्चित भयो।
गत संस्करणको साफ यू–१९ जित्दा नेपाली टोलीमा विमल घर्तीमगर, अन्जन विष्ट, अनन्त तामाङ र हेमन्त थापामगर जस्ता राष्ट्रिय टोलीको अनुभव बटुलेका खेलाडी थिए। अर्कोतर्फ प्रतियोगिता घरेलु भूमिमा आयोजना भएको थियो। एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको च्याम्पियनसिपको नेपालले भारतलाई पेनाल्टी सुटआउटमा पराजित गरी उपाधि जितेको थियो।
यू–१९ बाट यू–१८ मा झारिएको यस संस्करणमा नेपाली टिमलाई यसपटक घरेलु मैदानको सुविधा हुनेछैन। महत्वपूर्ण कुरा त नेपाली टिममा अनुभवी खेलाडीको कमी छ। ‘हाम्रो टोलीमा म्याच एक्सपोजर भएका खेलाडी छैनन्,’ प्रशिक्षक लोप्साङ यसलाई स्वकार्छन्, ‘तर, उनीहरुले मोफसलका प्रतियोगिता र यू–१५ बाट खेलेको अनुभव छ।’ घरेलु लिग नहुँदा युवा खेलाडीले म्याच एक्सपोजर नपाएको तितो यथार्थ लोप्साङले अनुभव गरेका छन्। ‘घरेलु लिग भएको भए युवा खेलाडीहरु एक्सपोजर पाउँथे, लिग नहुँदा खेलाडीले अनुभव बटुल्न पाएका छैनन्,’ लोप्साङले भने।
नेपालसँगै आयोजक भुटान, भारत, माल्दिभ्स र बंगलादेश गरी ५ टिमबीच राउन्ड रोबिनको आधारमा च्याम्पियनसिपमा प्रतिस्पर्धा हुँदैछ। बढी अंक बटुलेर शीर्ष स्थानमा रहने टिमलाई विजेता घोषणा गरिनेछ। त्यसैले नेपालका लागि उपाधि जित्न प्रत्येक खेल महत्वपूर्ण छ।
प्रशिक्षक लोप्साङ पनि सबै खेलमा राम्रो खेलेर उपाधि रक्षा गर्ने बताउँछन् । ‘फुटबल त्यस्तो खेल हो, प्रत्येक टिमका लागि सबै खेल गाह्रो हुन्छ,’ लोप्साङले उपाधि जित्ने दाबी गर्दै भने, ‘हाम्रो टिमको कमजोर पक्ष छैन। टिम स्पिरिट पनि राम्रो छ, त्यसैले उपाधि रक्षा गर्न सक्षम छौं।’
उपाधि रक्षा गर्ने दाबी गरिरहँदा लोप्साङले अभ्यास खेलबिना नेपाली टिम भुटान पुगेको पनि बताए। युवा टिमले सिनियर टिमसँग अभ्यास खेल खेल्ने कार्यतालिका थियो। तर सिनियर टिम व्यस्त भएका कारण अभ्यास खेल हुन सकेन। नेपालले यू–१६ टिमसँग अभ्यास खेलेको थियो। जसमा युवा टिमले किशोर टिमलाई ६–२ ले हरायो।
नेपाली टिमले अप्ठेरोकै बीच उपाधि जित्ने दाबी छ, प्रशिक्षक लोप्साङको। ‘सबै टिम उस्तै भएकाले प्रत्येक खेल गाह्रो हुन्छ,’ उनले भने, ‘साविक विजेता भएकाले हाम्रो टिमको मनोबल उच्च छ।’ टिममा एक जना खेलाडी राम्रो हुनुभन्दा सबै खेलाडीको स्तर समान भएमा जित्न सजिलो हुने तर्क उनले पेस गरे। ‘खेल जित्न टिममा १–२ खेलाडी राम्रो भन्दा पनि टिममा समान स्तरका खेलाडी हुँदा नजिता राम्रो निकन्छ,’ लोप्साङले भने, ‘हाम्रो टिम सन्तुलित छ, चाहिएको नजिता निस्केनमा ढुक्क छु।’
नेपालको खेल
४ असोज – भुटानविरुद्ध
६ असोज – माल्दिभ्सविरुद्ध
९ असोज – बंगलादेशविरुद्ध
११ असोज – भारतविरुद्ध
नेपाली टिम
गोलकिपरः सन्देश गुरुङ, अभिषेक बराल, अर्पण कार्की
डिफेन्डरः सुमन अर्याल, विश्वास उदास, रोमन लिम्बु, आकाश श्रेष्ठ, असिम भुसाल, विकास खवास, निराजन महर्जन, राजन गुरुङ
मिडफिल्डरः दिनेश हेन्जन, असोक थापामगर, अभिषेक रिजाल, अरिक विष्ट, अनिल महर्जन, सेसेहाङ आङ्दाम्बे, राजीव लोप्चन, राम वेन्जी
फरवार्डः धिरज श्रेष्ठ, रेजिन सुब्बा, प्रेजेन तामाङ, दिपेश आलेमगर
प्रमुख प्रशिक्षकः छिरिङ लोप्साङ
सहायक प्रशिक्षकः पुष्कर शाही
गोलकिपर प्रशिक्षकः मृगेन्द्र मिश्र
टिम म्यानेजरः गणेश चन्द
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।