रौतहट- रौतहटमा राति अबेरबाट मतगणना सुरु भएको छ। केही नगरपालिकाको गणना अझ थालिएको छैन। सदरमुकाम गौर, चन्द्रपुर परोहा, फतुवा विजयपुर, बौधिमाई लगायत नगरपालिकाको मतगणना जारी भएको हो।
बृन्दाबन नगरपालिकामा बदर मत दलका प्रतिनिधिलाई नदेखाउने भएपछि एमालेले गणना रोकेको छ।
मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। गौर, चन्द्रपुर, मोलापुर, कटहरीया, गरुडा लगायत नगरपालिकाहरुमा सुरक्षा कडा पारिएको हो।
सुरक्षाका लागि गणनास्थल तारजाली र डोरीले घेरिएको छ। गणनास्थलमा सुरक्षाका सवै उपायहरु अपनाउन निर्देशन भएको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख राजन श्रीवास्तवले जानकारी दिए।
सोमबार भएको मतदानमा जिल्लामा ७५ प्रतिशतभन्दा बढी मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। जिल्लाका १६ नगरपालिका र २ गाउँपालिकाको मतपेटीकाहरु मध्यरात गणनास्थलसम्म पुर्याइएको थियो।
रौतहटमा एक लाख ७५ हजार ६३ पुरुष र एकलाख ५४ हजार ९ सय ५४ महिला गरी ३ लाख २१ हजार १८ मतदाता छन्। जिल्लाको २ सय ७७ मतदान स्थलको ४ सय ४३ मतदान केन्द्रमा मतदान भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।