काठमाडौँ- नेपाल–चीन सडक यातायात सम्झौता संशोधन गरी सीमा जोडिएका १३ नाका खोल्न सरकारले चीनसँग प्रस्ताव गर्ने भएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री वीरबहादुर बलायरले नेपालका लागि चिनियाँ राजदूतलगायत अधिकारीसमक्ष यस्तो प्रस्ताव गरेका हुन्।
नेपाल–चीन सडक यातायात सम्झौता कार्यान्वयन गर्ने दस्तावेज (प्रोटोकल) संशोधन गरी थप नाका खोल्ने तयारी भएको उनले जानकारी गराए।
२०५१ सालमा भएको दुई देशबीचको सडक यातायात सम्झौताका विषयमा वार्ता गर्न चीनको सरकारी प्रतिनिधिमण्डल नेपाल आएको मन्त्रालयले जनाएको छ। यससम्बन्धी वार्ता गत वर्ष चीनको ल्हासामा भएको थियो।
बुधबार मन्त्रालयका अधिकारी र चिनियाँ अधिकारीबीच वार्ता गरी निष्कर्ष निकालिनेछ। यसअघि चीनसँग खासा–यारी (हुम्ला), खासा–रसुवागढी, खासा–ओलाङ्गचुङ्गोला नाका खोल्ने सम्झौता भइसकेको छ।
मन्त्री बलायरले रसुवागढी–हिल्सा, रसुवागढी–कोरला, खासा–कोरला, रसुवागढी–डोल्पा, खासा–डोल्पा, रसुवागढी–दार्चुला, रसुवागढी–ताक्लाकोट, खासा–ताक्लाकोट, रसुवागढी–ओलाङ्गचुङ्गोला र रसुवागढी–किमाथांका नाका खोल्न प्रस्ताव गरिएको जानकारी दिए।
'चीनको राजमार्ग कार्गो ढुवानीका लागि नेपालले प्रयोग पाउने गरी १३ नाका खोल्न प्रस्ताव गरिएको छ,' उनले भने।
नेपालका लागि चिनियाँ राजदूत यु हङ्गसँग भएको वार्तामा उनले आफू सहमत भएको बताउँदै प्रतिनिधिमण्डलसँग समन्वयका लागि कुरा राख्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।