तेह्रथुम- स्थानीय तहमा वाणिज्य बैंकका शाखा नहुँदा सरकारी कारोबारमा समस्या हुने गरेको छ।
तेह्रथुममा रहेका ६ वटा स्थानीय तहमध्ये फेदाप र मेन्छ्यायेम गाउँपालिकामा कुनै पनि बैंकका शाखा छैनन्। लालीगुराँस नगरपालिकामा माउन्ट मकालु डेभलेपमेन्ट बैंक खुलेको भए पनि सरकारी कारोबार गर्न स्वीकृति छैन।
सरकारी कारोबार गर्ने बैंक नहुँदा सर्वसाधारण, शिक्षक, स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई समेत सास्ती भएकोे छ। स्थानीय तहको निर्वाचन भई अधिकार गाउँमा आउँदासमेत कारोबारका लागि सदरमुकाम धाउनुपर्ने वाध्यता ग्रामीण भेगका नागरिकको छ।
बैंकको कामकै लागि घन्टौं लगाएर सदरमुकाम धाउनुपर्ने अवस्था रहेको फेदाप गाउँपालिका–४ का वडाध्यक्ष नवीन चोङ्वाङले बताए। 'गाउँपालिका त भयो, तर बैंक खुलेको छैन, त्यसैले आर्थिक कारोबारका लागि सदरमुकाम आउनैपर्ने बाध्यता छ,’ उनले गुनासो गरे।
स्थानीय तहभित्र काम गर्ने सबै क्षेत्रका कर्मचारी, शिक्षकको तलबसमेत गाउँपालिकामै गएको छ। जसका कारण तलब भत्ता, सामाजिक सुरक्षा भत्ता लगायत रकम निकासा गर्न समेत झन्झट भएको कर्मचारीकोे गुनासो छ।
बैंक नभएकाले आर्थिक कारोबार गर्न कठिनाइ भएको मेन्छ्यायेम गाउँपालिकाका प्रमुख यादवबहादुर खापुङले बताए। गाउँपालिकामा बैंकको असुविधा भएपछि कर्मचारी र जनप्रतिनिधि अहिले पनि हप्तौंसम्म सदरमुकाममै देखिने गरेका छन्।
जनप्रतिनिधि र कर्मचारी जिल्लामै केन्द्रित हुन थालेपछि सेवाग्राही पनि पहिलाकै जस्तो सदरमुकाम धाउनुपर्ने वाध्यतामा छन्। सबै गाउँपालिकामा सडक, विद्युत, सुरक्षा लगायत पूर्वाधार पुगिनसकेकाले बैंक खोलेर सेवा दिन समस्या हुने देखिएको छ। स्थानीय तह गठन भएपछि जिल्लाको छथर गाउँपालिकामा मात्रै बैंकको शाखा खुलेको छ।
लालीगुराँस नगरपालिकामा पनि राष्ट्रिय बाणिज्य बैंकले शाखा विस्तार गर्ने भने पनि अहिलेसम्म नखुलेको गाउँपालिकाका प्रमुख अर्जुन माबोहाङ्ले जनाए। ‘सिंह दरबारको अधिकार गाउँगाउँमा भन्ने नारा छ, तर हामीले सामाजिक सुरक्षा भत्तासमेत समयमा दिन सकेका छैनौं,’ उनले गुनासो गरे।
चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत सरकारले वृद्धभत्ता, पेन्सन लगायत स्थानीय तहमा जाने सबै प्रकारका भुक्तानी बैंकमार्फत गर्नुपर्ने व्यवस्था गरेको छ। सरकारले गत चैत २९ मा सबै स्थानीय तहमा शाखा खोल्न बैंकलाई निर्देशनसमेत दिएको थियो। तर, अहिलेसम्म बैंकको शाखा खोल्नुपर्ने स्थानहरुमा खोलिएका छैनन्। पूर्वाधार अभाव, सुरक्षा, वित्तीय संकट लगायत विभिन्न कारण देखाएर बैंकहरुले शाखा स्थापनामा ढिलाइ गरिरहेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।