रौतहट– स्थानीय तहको सोमबार सम्पन्न निर्वाचनमा रौतहटमा ७५ प्रतिशतभन्दा बढी मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख राजन श्रीवास्तवले ७५ प्रतिशत भन्दा बढी मत खसेको जनाए।
जिल्लाका विभिन्न स्थानका दुई दर्जनभन्दा बढी मतदान केन्द्रमा डुबान र हिलो भए पनि मतदाताहरु सक्रियरुपमा सहभागी भएका थिए।
जिल्लाको हजमुनिया, राजपुर, बसन्तपुर, रैयाटोल लगायत दुई दर्जनभन्दा बढी मतदान स्थल पानी परेका कारण हिलाम्मे भएका थिए।
हिलाम्मे मतदान स्थलहरुमा मतदाता हातमा जुत्ता चप्पल बोकेर मतदानमा सहभागी भएका थिए। ती मतदान स्थलमा आइतवार राति परेको पानी जमेको थियो।
रौतहटका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले भने, ‘शान्तिपूर्ण रुपमा मतदान सकिएको छ। गणनास्थलहरुमा मतमेटीका ल्याउने काम भइरहेको छ।’
जिल्लाका १६ नगरपालिका र दुई गाउपालिकाको मतपेटीकाहरु मध्यरातसम्म गणनास्थल आइपुग्ने बताइएको छ।
सदरमुकाम गौरको मत जिल्ला विकास समितिको हलमा गणना हुनेछ भने चन्द्रपुर नगरको जनज्योति क्याम्पस र गरुडा नगरको नमुना मावि गरुडामा हुनेछ। अन्य नगर तथा गाउपालिकाको पायक पर्ने उपयुक्त स्थानमा मतगणना हुने श्रीवास्तवले जानकारी दिए।
रौतहटमा १ लाख ७५ हजार ६३ पुरुष र १ लाख ५४ हजार ९ सय ५४ महिला गरी ३ लाख २१ हजार १८ मतदाता छन्।
जिल्लाको २ सय ७७ मतदान स्थलको ४ सय ४३ मतदान केन्द्रमा मतदान भएको हो।
निकै चुनौतीपूर्ण अनुमान गरिएको रौतहटमा शान्तिपूर्ण रुपमा निर्वाचन सकिएपछि रौतहटका सुरक्षा निकायका प्रमुखहरुले खुसी व्यक्त गरेका छन्।
रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले फेसबुकमा जिल्लाका सुरक्षा प्रमुखहरुको फोटो सार्वजनिक गर्दै मतदाता र सबै सहकर्मीलाई धन्यवाद दिएका छन्।
रौतहटमा ९० भन्दा बढी केन्द्रलाई अति संवेदनशीलका रुपमा राखिए पनि मतदाताहरुको उत्साहपूर्वक सहभागितामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ।
रौतहटका प्रहरी प्रमुख पोखरेल सबैको सहयोगमा शान्तिपूर्ण रुपमा मतदान सकिएको प्रतिक्रिया दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।