



काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) मा करिब २ वर्षदेखि देखिएको विवादको अन्त्य हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद (राखेप) ले क्यानको संशोधित विधानलाई स्विकृति प्रदान गरेपछि विवाद अन्त्यतर्फ अगाडि बढेको हो।
राखेपले भदौं २६ मा क्यानको संसोधित विधानलाई मन्जुरी दिएको निर्वाचित क्यान अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले गठन गरेको सल्लाहकार समितिले बनाएको विधान क्यानको विशेष साधारण सभाले संशोधनसहित गत महिना पारित गरेको थियो। पारित विधानलाई स्विकृतिका लागि राखेपमा पठाएको थियो। राखेपले स्विकृत गरेपछि विधान तत्काल लागु हुने व्यवस्था छ।
राखेपले पनि आफूले स्विकृत गरेको विधान आइसिसीमा पठाइसकेको छ। आईसिसीले संशोधित विधान स्विकार गरे क्यानमाथि लाग्दै आएको निलम्बन फुकुवा हुनेछ। ‘हामी समस्या समाधानको अन्त्यतिर आइपुगेका छौं। आइसिसीले संशोधित विधान स्विकार गर्ने वित्तिकै नेपाली क्रिकेटमा लाग्दै आएको निलम्बन फुकुवाको प्रक्रिया अगाडि बढ्नेछ,’ क्यान अध्यक्ष चन्दले नेपाल लाइभलाई बताए।
संसोधित विधानअनुसार ८ कात्तिकभित्र जिल्ला क्रिकेट संघ, ८ मंसिरसम्म प्रदेश संघ र ९ पुससम्म क्यानको केन्द्रीय समितिको निर्वाचन गरिसक्नु पर्ने व्यवस्था राखिएको छ।
क्यानको संशोधित विधानमा १७ सदस्यीय कार्यसमितिका सदस्यले आगामी साधारण सभामा मतअधिकार पाउने छैनन्। तर, निर्वाचनमा भने प्रतिस्पर्धा गर्न पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।