काठमाडौं– दशैंमा काठमाडौंबाट बाहिरी जिल्ला जाने यात्रुसँग बढी भाडा असुल्ने बिचौलिया र यात्रुसँग वाद–विवाद गर्ने सवारी साधनका कर्मचारी विरुद्व प्रहरीले निगरानी बढाएको छ।
प्रहरीले दशैंका लागि अग्रीम टिकट बुकिङमा कालोबजारी गर्ने र यात्रुसँग बादविवाद गर्ने ३० जना विरुद्व मुद्दा चलाएरै कारबाही थालेको हो।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुलाई टिकट कालोबजारी गर्ने र वाद–विवाद गर्ने ३० जनालाई काठमाडौंका विभिन्न टिकट काउन्टरबाट नियन्त्रणमा लिएर नजिकको वृत्तमा बुझाएको हो। वृत्तले आरोपीको कसुर अनुसार केही सार्वजनिक अपराध ऐन र ठगीमा म्याद थपेर कारबाही अघि बढाएको महाशाखाले जनाएको छ।
महाशाखा प्रमुख डिआइजी सर्वेन्द्र खनालले दशैंमा उपत्यका बाहिरिने यात्रुको सुविधा र सुरक्षाका लागि महाशाखाले विभिन्न स्थानमा राखेका सहयोग कक्ष र सादा पोशाकका प्रहरीले बिचौलिया र गालीगलौज गर्नेहरुलाई नियन्त्रणमा लिएर कारबाही थालेको बताए।
‘हामीले सहयोग कक्ष मार्फत यात्रुलाई सुविधायुक्त र सुरक्षित बनाउने प्रयास गरेका हौं, केही बिचौलियाले ठगी गरेको भेटिएपछि विभिन्न इकाइमा पठाउने गरेका छौं,’ डिआइजी खनालले भने।
महाशाखाका अनुसार भदौ २४ यता सोमबारसम्ममा कोटेश्वर, बानेश्वर, गंगबु, कलंकी र नयाँ बानेश्वर क्षेत्रबाट ३० जना बिचौलिया टिकट कालोबजारी र वाद–विवादको आरोपमा पक्राउ परेका छन्।
यसरी पक्राउ परेकामध्ये वृत्त कालिमाटीले ११ जना, वृत्त वानेश्वरले ५ जना र वृत्त गौशालाले एकजना विरुद्व ठगी मुद्दामा कारबाही अघि बढाएको छ । यस्तै नयाँ बसपार्क प्रभागले ९ जना र कोटेश्वर तथा बानेश्वर ट्राफिक प्रहरी प्रभागले ४ जना विरुद्द कारबाही थालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।