काठमाडौँ– निर्वाचन आयोगले प्रदेश नम्बर २ का १ सय ३६ स्थानीय तहको मतपरिणाम पाँच दिनभित्र सार्वजनिक गर्ने भएको छ।
आजै रातिबाटै मतगणना सुरु गर्न लागेको आयोगले पाँच दिनभित्र सार्वजनिक गर्ने भएको हो। मतपेटिका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा पुर्याउने काम जारी रहेको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बताए।
अधिकांश तहमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले सर्वदलीय बैठक बोलाइसकेको आयोगले जनाएको छ। 'जनताको मतपरिणाम मतपेटिकामा खसेको छ, त्यसलाई राजनीतिक दलले स्वीकार गर्दै अघि बढ्नुहुनेछ भन्ने विश्वास आयोगल लिएको छ। मतगणनाका लागि मतपेटिका खोल्न सर्वदलीय बैठक अधिकांश स्थानमा सुरु भएको छ,' प्रमुख आयुक्त यादवले भने।
निर्वाचनमा महिला दलित आदिवासी जनजातीको उत्साहजनक सहभागिता भएको भन्दै उत्साहजनक सहभागिताले लोकतन्त्रलाई सुदृढ बनाएको बताए। प्रदेश नम्बर २ मा फर्जी मतदाता समेत पक्राउ परेका छन्। विभिन्न जिल्लाबाट ३० जना फर्जी मतदाता पक्राउ परेको आयोगले जनाएको छ। यस्तै निर्वाचन कानुन उल्लंघन गर्ने १० जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। आयोगले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन सक्रिय सुरक्षा निकाय, निर्वाचन अधिकृत र कर्मचारीलाई धन्यवाद ज्ञापन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।