जनकपुर– प्राध्यापक सुरेन्द्र लाभ भन्दै थिए, ‘स्थानीय तहको तेस्रो चरणको निर्वाचन हुन गइरहेको प्रदेश–२ मा राजपा पहिलो दल बन्छ।’ तर सर्लाहीमा भेटिएका राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका एक नेता महेन्द्र राय यादव स्वयम् त्यति आत्मविश्वासी देखिएनन्।
‘हामीलाई संगठित हुनै समय लाग्यो। त्यसमाथि हामी चुनावमा भाग लिने, नलिने द्विविधामै थियौं। छोटो तयारीमा चुनावमा होमिनुपर्दा सोचेजस्तो परिणाम निकाल्न धेरै मेहनत गर्नुपर्छ,’ उनले भने। प्रत्येक दलमा एकै पदमा धेरै आकांक्षी हुन्छन्, ६ दल मिलेर बनेको राजपामा उम्मेदवारीका लागि दाबेदारी गर्ने यसै पनि धेरै हुने भइहाले। २० वर्षदेखि साथमा रहेका स्वकीय सचिव रामबाबु दासले समेत चुनावको मुखमै छाडेर माओवादीमा गएपछि यादव कसरी उत्साही सक्थे र?
आखिर को बन्ला प्रदेश–२ को पहिलो शक्ति? जेपी गुप्ता भन्छन्, ‘कांग्रेस नै पहिलो शक्ति हुनेछ प्रदेश–२ मा। किनकि, मधेस कांग्रेसको पहिलेदेखि कै आधार क्षेत्र हो। बीचमा कांग्रेस छाडेर मधेस केन्द्रित दलतिर गएका धेरै स्थानीय नेता, कार्यकर्ता अहिले माउ पार्टीमा फर्किसकेका छन्। यसपटक कांग्रेसको प्रचार पनि आक्रामक देखिएको छ।’
राजपाको आन्दोलनका कारण मधेस लामो समय अस्तव्यस्त रह्यो। तर पनि कांग्रेसले मधेशलाई चिढाउने काम गरेन, सकभर समेट्नै खोज्यो। गुप्ताकै विश्लेषणमा कांग्रेसले पहिलो स्थान हासिल गर्ने अर्को आधार यही हो।
प्रतिष्ठाको हिसाबले प्रदेश–२ को चुनाव संसदको दोस्रो ठूलो दल एमाले र राजपाबीच नै हुनेछ। तर अंकगणितीय रुपमा प्रतिस्पर्धा भने राजपाले कांग्रेससँगै गर्नुपर्नेछ। किनकि, मधेसमा कांग्रेसको पकड सदैव बलियो देखिँदै आएको छ।
पहिलो र दोस्रो चरणको स्थानीय तहको चुनावमा संसदको पहिलो दल हुनुका बाबजुद एमालेलाई पछ्याएको कांग्रेस यसपटक निकै आक्रामक रुपमा चुनावमा होमिएको छ। उसलाई प्रदेश–२ मा पहिलो हुने चुनौतिमात्र छैन, यसअघिका दुई चरणका नतिजामा एमालेलाई पछि पार्ने दबाव पनि छ। त्यसैले पनि प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा निर्वाचन आचारसंहिता मिचेरै पटकपटक मधेस झरे।
कांग्रेसका प्रायः सबै केन्द्रीय नेता यसपटकको चुनावको पूर्वसन्ध्यामा मधेसमा खटिए। वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, विमलेन्द्र निधि, रामशरण महत, गगन थापालगायतका नेताले धेरै दिन मधेसमै बिताए। अर्कोतर्फ टिकट वितरणको असन्तुष्टि झेल्न गाह्रो पर्ने देखेर राजपाका शीर्ष नेताहरु धेरै ढिलो गरी मधेस झरे।
सिरहाको सत्यनारायण, सूर्यनारायण बहुमुखी क्याम्पसका प्रिन्सिपल सुरेन्द्र यादवका अनुसार राजपाले सद्भावको मत पाउनसक्छ। तर संगठित हुन नसक्नु र टिकट वितरणको असन्तुष्टिले उसलाई केही असर पार्नेछ। ‘संविधान संशोधनका लागिलामो आन्दोलन गरे। दुई चरणका चुनावमा भाग लिएनन्। यतिखेर सबै कुरा गुमाएर आएका छन् भन्ने सद्भाव रहनेछ राजपाप्रति,’ उनले भने।
प्रदेश–२ मा कांग्रेसले अग्रता लिने धेरैको बुझाई छ। त्यसो भए दोस्रो शक्ति कुन बन्ला? मधेसको मुद्दाप्रति सद्भाव राख्ने भएकाले यहाँका धेरैजसो बुद्धिजीवी राजपा दोस्रो शक्ति बन्ने ठान्छन्। तर सद्भावले मात्र राजनीति चल्दैन। ६ दल मिलेर बनेको राजपा शीर्ष तहमै संगठित भइसकेको छैन, स्थानीय तहमा त झन् बिजोग छ। त्यसमाथि आफू र आफ्ना पक्षधरले टिकट नपाएपछि व्यक्तिगत प्रभाव भएका राजपाका धेरै हस्ती एमाले, माओवादी र कांग्रेसमा प्रवेश गरे। उनीहरुको बहिर्गमनसंगै राजपाको मत बाँडिने निश्चित छ।
‘काठमाडौंले हेरेजस्तो मधेसमा एमाले कमजोर छैन,’ सप्तरीको हनुमाननगरमा भेटिएका जेपी गुप्ता भन्दै थिए, ‘काठमाडौंबाट हेर्दा त एमाले मधेसविरोधी पार्टी हो, उसको यहाँ जनाधार छैन भनेजस्तो देखिन्छ। तर परिस्थिति त्यस्तो छैन। धेरथोर जति भए पनि उसको यहाँ पहिलेदेखिको संगठन छ। त्यसमाथि यसपटक एमालेको टिकट वितरण अरुको तुलनामा राम्रो देखिएको छ। व्यक्तिगत प्रभाव जमाउन सक्नेलाई उसले टिकट दिएको छ।’
एमालेले पनि यसपटक राजपा हस्ती मानिएका थुप्रै असन्तुष्टलाई भित्र्याएको छ। अध्यक्ष केपी ओली रौतहटको चन्द्रनिगाहपुरमात्र झरे पनि वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव इश्वर पोखरेल, सचिव योगेश भट्टराईलगायत दर्जनौं नेता मधेसमा अहोरात्र खटिएका छन्। एमालेका लागि मधेसको चुनाव प्रतिष्ठाको विषय बनेको छ, मधेसविरोधी भनेर गरिएको प्रचार चिर्नका लागि पनि उसले आफ्नो दर्बिलो उपस्थिति देखाउनु जरुरी छ। राजपा र फोरमले कडा प्रतिस्पर्धा दिए पनि प्रदेश–२ को दोस्रो शक्तिका रुपमा एमालेको दाबेदारी कायमै देखिन्छ।
पहिलो र दोस्रो चरणको निर्वाचनमा सहभागी भएर संघीय समाजवादी फोरमले पहिलेदेखि नै मधेसको आफ्नो मत सुरक्षित राखेको छ। यसबीच उसले आफ्नो संगठनलाई सुदृढ पनि पारेको छ। त्यसैले फोरमको प्रभाव पनि मधेसमा कम छैन। पछिल्लो समय मधेसमा राजपा संघर्षरत रहे पनि मधेस आन्दोलनको ‘जननी’ को जस फोरमले नै पाएको छ। तर फोरम र राजपाबीच प्रतिस्पर्धा तीव्र बनेमा कांग्रेस एमाले र माओवादीलाई फाइदा पुग्न सक्छ।
माओवादी केन्द्रले पनि यसपटक मधेसमा आक्रामक अभियान चलायो। माओवादी अध्यक्ष पुष्पकमल दाहालले राजविराजदेखि पर्सासम्म धेरैपटक चक्कर काटे। सो पार्टीले मधेस केन्द्रित दलबाट केही हस्ती पनि आफ्नो पार्टीमा भित्र्याएको छ। माओवादी नेतृत्वपंक्तिमात्र होइन, सिंगो वाईसीएल यसपटक मधेस अभियानमा भिड्यो। त्यसैले आश्चर्यजनक रुपमा एमाले, राजपा, फोरमसंगै माओवादीले पनि आफूलाई प्रदेश–२ को दोस्रो शक्तिको प्रतिस्पर्धामा उभ्याएको छ। तर एमाले, राजपा र फोरमलाई टक्कर दिनेगरी उभिन उसले भित्री रुपमा के रणनीति अपनाएको छ, त्यसमा निर्भर गर्छ।
अचम्म के छ भने एमाले उत्तरको राजमार्गतिर बलियो देखिँदै गर्दा दक्षिणतिर माओवादीले आफ्नो प्रभाव विस्तार गरेको छ। सदरमुकामसहित बीचका भागमा कांग्रेस, राजपा र फोरम बलिया देखिएका छन्। मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको पनि यस भेगमा आंशिक प्रभाव छ।
मधेसको चुनाव चुनौतिपूर्ण हुने ठानिएका बेला छिटफुट घटनाबाहेक स्थानीय तहको तेस्रो चरणको निर्वाचन सम्पन्न भएको छ। निर्वाचनमा जनताको उत्साहजनक सहभागिता देखिएको छ। निर्वाचन आयोगका अनुसार करिब ७३ प्रतिशत मत खसेको छ। मतपेटिकाहरु सुरक्षित रुपमा मतगणनास्थल पुर्याएर कतिपय स्थानमा सोमबार रातिबाटै मत गन्ने काम सुरु हुनेछ। खासमा जब ‘ब्यालेट’ खुल्छ, तबमात्र प्रदेश–२ को प्रमुख शक्ति को भन्ने तय हुन्छ। मतगणनाको प्रारम्भिक नतिजाहरुले नै त्यसको संकेत गर्नेछन्, जसका लागि अब धेरै समय कुनुपर्ने छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।