'ये जवानी है दिवानी' फिल्मको 'बदतमिज दिल' गीतको चर्चा हुनेबित्तिकै गायक बेनी दयालको नाम आइहाल्छ । त्यसको तुलनामा यो गीत बनाउने संगीतकार र गीतकारको नाम खासै लिइँदैन।
सन् २००४ मा बनेको 'धूम' फिल्मबाट एकल संगीतकारका रुपमा बलिउडमा कदम राख्ने प्रीतम पछिल्लो समयको संगीतक्षेत्रको अवस्थाप्रति गुनासो गर्छन् । उनलाई लाग्छ, संगीतकार र गीतकारले पहिले जुन आदर-सम्मान पाउँथे, अचेकाले पाइरहेका छैनन् । एक दशकभन्दा बढी समय फिल्म उद्योगमा सफलताको स्वाद चाखिसकेका प्रीतमले धेरै हिट गीतहरु दिएका छन्।
संगीतमय आफ्नो फिल्मी यात्रालाई उनी सपना भन्छन् । यो यात्रा जे-जति प्राप्त गरेका छन्, यसमा उनी सन्तुष्ट छन् । तर, उनलाई लाग्छ, संगीत क्षेत्रमा संगीतकारको पहिचान बिस्तारै हराउँदै गएको छ।
'गीत गायकमै सीमित भयो'
प्रीतमका अनुसार, संगीतकार र गीतकारले आफ्नो मौलिक अधिकार गुमाउँदै गएका छन् । उनी भन्छन्- 'एक जमानामा जब कुनै गीतको कतै चर्चा गरिन्थ्यो, गायकसँगै गीतकार र संगीतकारको नाम लिइन्थ्यो । तर, अहिले भने गीत भन्नेबित्तिकै गायकमा सीमित भएको छ।'
गायकीबाट मनग्गे कमाइ हुने देखेका उनले एउटा गीत हिट भयो भने त्यसबाट कैयौं सांगीतिक कार्यक्रममा पैसा वर्षिएको पनि देखेका छन्।
यसमा थप्दै उनी भन्छन्- 'गायकको कमाइ संगीतकारको भन्दा ५ सय गुणा बढी हुन्छ । यसले नयाँ सिँढीलाई संगीतकार बन्न निरुत्साहित गरी गायक बन्ने आकर्षण दिन्छ । किनकि त्यसबाट राम्रो कमाइ हुन्छ । श्रोता-दर्शक गुनासो गर्छन्- पछिल्लो समय संगीत खराब हुँदै गएको छ, पुरानो जमानाका गीतहरु राम्रो थियो, अचेलका गीत राम्रा छैनन् । तर, त्यो समयमा नौशाद र लक्ष्मीकान्त प्यारेलालजीलाई त्यो आदर प्राप्त हुन्थ्यो । आज त्यो आदर-सम्मानको कमी छ ।'
प्रीतमका अनुसार, पश्चिमा मुलुकहरुमा हरेक हिट गीतको कमाइबाट गीत बनाउनेहरुले पनि हिस्सा पाउँछन्, जुन व्यवस्था बलिउडमा छैन । उनी यो पनि भन्छन्, संगीतकार नयाँ भएमा निर्माता शोषण गर्छन् र कम पैसामा काम लगाउँछन् । गीत हिट भएमा नयाँ संगीतकार बढी पैसाको आकर्षणमा आवश्यकताभन्दा कामको भार उठाउँछन्, जसले संगीतको गुणस्तरमा कमी आउँछ।

प्रीतमले सुरु गरेको नयाँ ट्रेन्ड
नयाँ गायकलाई मौका दिने चाहनाले प्रीतमले भारतीय संगीतमा नयाँ ट्रेन्ड सुरु गरे, जसमा उनी एउटै गीत धेरै गायकलाई गाउन लगाउँथे । यो ट्रेन्डबाट मोहित चौहान, अमित मिश्रा जस्ता गायकलाई फिल्ममा गाउने मौका मिल्यो । तर, समस्या त्यतिखेर आयो, जब प्रसिद्ध गायकको आवाजमा गीत डब हुन लाग्यो र तिनलाई अन्तमा रद्द गर्न थालियो।
प्रीतम भन्छन्- 'निर्माताहरुको बन्दुकबाट निस्किएको गोली संगीतकारको काँध हुँदै पार हुन्थ्यो, जसबाट गायकहरुसँग मेरो सम्बन्ध बिग्रिन्थ्यो । तर, अब मैले जुन गायकको आवाजमा गीत डब हुन्छ, त्यसलाई रद्द नगर्ने सिस्टम बसालेको छु । किनकि मलाई कैयौं पटक गलत आरोप लागेको थियो।'
'कैयौं गलत निर्णय लिएँ'
प्रीतमलाई कैयौं पटक संगीत चोरीको आरोप समेत लागेको थियो । यो आरोपको सफाइ दिँदै उनी भन्छन्, 'मेरो सुरुवाती करिअरमा मैले कैयौं गलत निर्णय लिएको थिएँ । त्यो समय मेरो सोचमा कमजोरी थियो । तर, अब म त्यसबाट बाहिर आइसकेको छु । मान्छेहरुलाई गीत फलानो गीतसँग मिल्छ भनेर तुलना गर्दा खुसी लाग्छ, तर त्यो निराधार हो । कुनै वाद्ययन्त्रको धुन समान हुँदैमा संगीत उस्तै हुँदैन । सुरुवाती करिअरमा हैरानी भएको थियो । सम्झिँदा कहिलेकाहीँ नमज्जा पनि लाग्छ । तर, मलाई माया गर्ने धेरै मानिस छन्, उनीहरुबाटै मलाई नयाँ गीत बनाउने ऊर्जा प्राप्त हुन्छ।'
प्रीतमले सलमान खान, शाहरुख खान, आमिर खान, अक्षय कुमार, अजय देवगन, रणवीर कपूर, वरुण धवन जस्ता सबै बलिउड स्टारसँग काम गरिसकेका छन् । अब रणवीर सिंह, अर्जुन कपूर र सिद्धार्थ मल्होत्रासँग काम गर्न व्यग्र छन्।
'ऐ दिल है मुश्किल', 'टूयूबलाइट', 'जग्गा जासूस', 'जब हैरी मेट सेजल' फिल्मपछि संगीतकार प्रीतम पछिल्लो समय लामो फुर्सदमा छन् । उनी विगतमा व्यस्त हुँदा परिवारलाई दिन नपाएको समय उनीहरुलाई फर्काउन रमाइरहेका छन्।
बिबिसी हिन्दीबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।