काठमाडौँ- महानगरीय ट्राफिक प्रहरी महाशाखाले दसैं, तिहार, छठ लगायत चाडपर्वमा मादक पदार्थ सेवन (मापसे) जाँचलाई कडाइ गर्ने भएको छ।
चाडपर्वको समयमा धेरै मानिस मापसे गरेर सवारी चलाउने र दुर्घटना धेरै हुने गरेको भन्दै मापसेलाई कडाइ गर्न लागेको हो।
महाशाखाका प्रमुख सर्वेन्द्र खनालले चाडपर्वमा धेरै मापसे सेवन गर्ने र लापबाहीपूर्वक सवारीसाधन चलाउने चालकका कारण दुर्घटना हुन सक्ने भएकाले नियमित मापसे जाँच गर्ने व्यवस्था गरेको जानकारी दिए।
यस्तै महाशाखाले सवारीसाधनले बढी भाडा लिने, क्षमता भन्दा बढी यात्रु हाल्ने, एकै सिटमा दोहोरो टिकट काटिदिने जस्ता अनियमितता रोक्न काठमाडौँ उपत्यका भित्रिने तथा बाहिरिने नाकामा विशेष चेकजाँचको व्यवस्था मिलाएको छ।
महाशाखा प्रमुख खनालले सवारी चालकले सवारी नियम उल्लंघन गरी सवारी चलाएमा तत्काल ट्राफिक प्रहरी वा नागरिक सहायता कक्षको अधिकृतलाई सम्पर्क गर्न आग्रह समेत गरे।
उपत्यकाको नयाँ बसपार्क, पुरानो बसपार्क, कलंकी, कोटेश्वर, गौशाला, बल्खु, एयरपोर्ट, सुन्धारा, नागढुंगा, जोरपाटी, माछापोखरी, सातदोबाटो लगायतका मुख्य स्थानमा ट्राफिक महाशाखाले यातायात व्यवस्था विभागसँग मिलेर नागरिक सहायता कक्ष राखेको छ।
महाशाखाले निषेधित गरिएका सवारी गतिविधिलाई नियन्त्रमा लिने र कानूनी कारबाही प्रक्रियालाई तीव्र बनाउने जनाएको छ।
यात्रु ठगिन गएमा वा मारमा परेमा तत्काल सूचना हासिल गर्ने र त्यस ठाउँमा खटिएको ट्राफिक प्रहरीले समस्याको समाधानमा सहयोग पुर्याउने महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।