चितवन- नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले माओवादी केन्द्रसँग पार्टी एकताको सम्भावना नरहेको बताएका छन्।
पत्रकारसँग कुरा गर्दै उनले केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाटो बिराएकाले पार्टी एकता सम्भव नरहेको बताए। प्रचण्डले नयाँ जनवादी क्रान्तिको बाटो छोडेर लोकतान्त्रिक पद्धति, १२ बुँदे सहमति, जनमुक्ति सेनालाई नेपाली सेनामा समायोजनको समयसम्म आइपुग्दा बाटो बिराएको उनको भनाइ थियो।
बहुलवादलाई स्वीकार गरेर जाने कम्युनिस्ट नभएको भन्दै उनले माओवादी केन्द्रले कम्युनिस्ट सिद्धान्त नै छाडिसकेको दाबी गरे।
'माओवादी केन्द्र अब नामधारीको कम्युनिस्ट मात्रै हो,' उनले भने, 'प्रचण्ड पश्चगामी दिशामा गइसकेका छन्। माओवादी केन्द्र काँग्रेससँग बाटो सोझ्याउँदैछ।'
कम्युनिस्ट एक भएर जानुपर्ने भन्दै उनले अहिलेको संविधान नमान्ने र सरकारमा नजाने बीचमा एकता हुन सक्ने बताए। 'यसका लागि बिप्लव र मोहनविक्रमसँग कुराकानी भइरहेको छ,' उनले भने।
आफूहरु शान्तिपूर्ण आन्दोलनको पक्षमा रहेको बताउँदै वैद्यले सरकारको रबैयाले भावी बाटो कस्तो हुन्छ भन्ने कुरा निर्धारण हुने भनाइ राखे। अबको संघ र प्रदेशको निर्वाचनमा जाने नजाने भन्ने विषयमा छलफल भइरहेको बताउँदै केही दिनमा टुंगो लाग्ने वैद्यले बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।