म्यानचेस्टर– इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले इभर्टनलाई ४–० गोलले पराजित गरेको छ।
म्यानचेस्टरको जितमा ४ खेलाडीले गोल गरे। चौथो मिनेटमा एन्टोनियो भ्यालेन्सियाले गोल गरेर म्यानचेस्टरलाई सुरुवाती अग्रता दिलाए। म्यानचेस्टरले सुरुवाती अग्रता लिएपछि ८३ मिनेटसम्म खेलमा गोल हुन सकेन। ८३ मिनेटमा हेनरिक खितर्यानले म्यानचेस्टरको अग्रता दोब्बर पारे।
खेल सकिन एक मिनेट बाँकी छँदा रोमेलु लुकाकुले म्यानचेस्टरका लागि तेस्रो गोल गरे। बेल्जियम फरवार्ड लुकाकु यही सिजन ७ करोड ५० लाख पाउन्डमा इभर्टनबाट म्यानचेस्टरमा आबद्ध भएका थिए। आफ्नो पूर्वक्लब विरुद्ध गोल गरेपछि लुकाकुले सेलिब्रेसन समेत गरे।
दोस्रो हाफको इन्जुरी टाइममा एन्थोनी मार्टियलले पेनाल्टीमार्फत गोल गरेपछि म्यानचेस्टरले सानदार जित हात पार्यो। यता म्यानचेस्टरका लागि सर्वाधिक गोल गरेर रेकर्ड बनाएका वाइन रुनी इभर्टनबाट मैदान उत्रिए। रुनी म्यानचेस्टरबाट इभर्टननमा यहि सिजन आवद्ध भएका थिए। खेलमा म्यानचेस्टर विरुद्ध गोल गर्ने दुई अवसर पाए पनि रुनीले गोल गर्न सकेनन्।
लिगअन्तर्गत अर्काे खेलमा चेल्सी र आर्सनलले गोलरहित बराबरी खेलेका छन्।
लिगकोे पाँचौ चरणको खेल सकिदा म्यानचेस्टर सिटी १३ अंक जोडेर शीर्ष स्थानमा छ। म्यानचेस्टर युनाइटेडले पनि १३ अंक नै जोडेको छ। चेल्सी १० अंक जोडेर तेस्रो स्थानमा छ। म्यानचेस्टरसँग पराजित भएको इभर्टनको ४ मात्र छ। अंक तालिकामा इभर्टन पुछारबाट तेस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।