म्याड्रिड – स्पेनिस ला लिगामा साविक विजेता रियल म्याड्रिडले दुई खेलपछि जित निकालेको छ। रियलले चौथो चरणमा रियल सोसिडाडलाई ३–१ ले पराजित गर्यो। हारसँगै सोसिडाडको लगातार तीन खेलकाे जितमा पूर्णविराम लागेको छ।
खेलको १९ मिनेटमा बोर्जा मायोरलले गोल गरेर रियललाई अग्रता दिलाए। बोर्जाले रियलका लागि पहिलो गोल गरेका हुन्। तर २८ मिनेटमा सोसिडाडका फुल ब्याक रोद्रिगेजले गोल गरेर खेललाई बराबरीमा ल्याए।
बराबरी गोल फर्काएर नायक साबित भएका रोद्रिगेज ३६ मिनेटमा खलनायक बन्न पुगे। रोद्रिगेजले आफ्नै पोस्टमा गोल गरेपछि सोसिडाड घरेलु मैदानमा २–१ ले पछि परेको थियो। ६१ मिनेटमा गारेथ बेलले उत्कृष्ट गोल गरेपछि रियल ३–१ ले अघि बढेको थियो।
लिगमा रियलले दुई खेलपछि जित निकालेको हो। यसअघि रियललाई लेभान्टेले १–१ तथा भ्यालेन्सियाले २–२ को बराबरीमा रोकेको थियो। लिगका अन्य खेलमा भिल्लारियलले अलाभेसलाई ३–०, सेभिल्लाले गिरोनालाई १–० र लास पालमासले एथलेटिको बिल्बाओलाई पनि १–० ले पराजित गरेका छन्।
लिगमा चार खेलमा १२ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ। सेभिल्ला १० अंक जोडेर दोस्रो, सियल सोसिडाड ९ अंकसहित तेस्रो र ८ अंक जोडेको रियल म्याड्रिड चौथो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।