पेरिस– स्टार स्ट्राइकर नेइमार र एडिन्सन काभानी गोल गर्न चुके पनि पेरिस सेन्ट जर्मेन (पिएसजी) विजयी भएको छ। पिएजसीले आइतबार राति भएको फ्रेञ्च लिग वानको खेलमा लियोनलाई २–० ले पराजित गरेको हो। यद्यपि पिएसजीले दुवै गोल उपहारको रुपमा पायो।
घरेलु मैदानमा भएको खेलमा नेइमार, केलियन एबाप्पे र काभानीले पाएका अवसर खेर फालेका थिए। च्याम्पियन्स लिगअन्तर्गत गत साता सेल्टिकलाई ५–० ले हराउँदा तीनै खेलाडीले गोल गरेका थिए।
७५ मिनेटमा पिएसजीले अग्रता लियो। काभानीले फ्लिक गरेको बलमा लियोनका मार्सेलोले आफ्नै पोस्टमा गोल गरे। खेल सकिन ४ मिनेट बाँकी छँदा रिबाउन्ड बलमा जेरेनी मोरेलले फेरि आफ्नै पोस्टमा बल छिराएपछि लियोन २–० ले पछि परेको थियो। खेलमा पिएसजीले पेनाल्टीको अवसर पनि पायो। काभानीले प्रहार गरेको पेनाल्टीलाई लियोनका गोलकिपर एन्थोनी लोप्सले विफल पारे।
लगातार ६ खेलमा विजयी भएको पिएसजी १८ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा छ। दोस्रो स्थानको साविक विजेता मोनाकोको १५ अंक छ। पिएसजीसँग पराजित भएको लियोन ११ अंक जोडेर पाँचौ स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।