नयाँ दिल्ली (एजेन्सी)– पाँच वर्षअघि टाटा मोटर्सले पेट्रोल र डिजलको प्रयोगबिना गाडी उत्पादन गर्ने सोच पनि बनाएको थिएन। तर, भारतको नयाँ दिल्लीमा भएको अटो एक्स्पो–२०१८ मा उसले यी दुवै इन्धनको प्रयोगबिना चल्ने कारको मोडल सार्वजनिक गरेको छ।
टाटा मोटर्सको इलेक्ट्रिक कार बनाउने घोषणासँगै भारतीय बजार अहिले तातेको छ। उसले अटो एक्स्पोमा टिगोर इवी र टिआगो इवीको मोडल सार्वजनिक गरेको हो। भारत सरकारले २०३० सम्म देशमा चल्ने सबै बहानलाई इलेक्ट्रिक बनाउने घोषणा गरिसकेको छ। यसको उद्देश्य प्राप्तिका लागि कम्पनीले इलेक्ट्रिक कार निमार्ण गर्ने घोषणा गरेको हो। अटो एक्स्पोमा टाटाको मोडल देखेपछि अर्डर गर्नेको लाइन पनि लागेको छ। कम्पनीले हजारौंको संख्यामा इलेक्ट्रिक कार खरिद गर्ने अर्डर आइसकेको बताएको छ।
निकै साधारण लाग्ने इवी कारमा सबैभन्दा ठूलो अन्तर इन्जिन र ब्याट्रीको छ, जुन बाहिरबाट देखिँदैन। कम्पनीले दुवै कारमा ३ फेस एसी इन्डक्सन मोटर जडान गरेको छ, जसले कूल ४० बिएचपी पावर जनरेट गर्ने क्षमता राख्छ।
टाटाका लागि यो ठूलो उपलब्धि त होइन तर यसले इलेक्ट्रिक भेइकल्सको दुनियामा नयाँ र राम्रो सुरुवात दिने पक्का छ। कम्पनीले सबै कुरा जानकारी गराएको छैन। तर, दुवै इलेक्ट्रिक कार कम्पनीको सानन्द प्लान्टमा तयार गरिँदैछ।
भारतमा यो कारको मूल्य ८ देखि १० लाख भारु हुनसक्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।