मुम्बई– कमेडियन कृष्णा बलिउड कलाकार गोविन्दाका भान्जा हुन् । गोविन्दाकी श्रीमती भने नेपाली । बाल्यकालदेखि नै मामा गोविन्दा र माइजू सुनिताको घरमा बसेर हुर्किएकाले होला, कृष्णा थोरै भए पनि नेपाली बोल्छन् र बुझ्छन् पनि।
कृष्णालाई मुम्बईस्थित लोखनडवालाको एउटा रेस्टुराँमा केही समय अगाडि भेट्दा उनी टेलिभिजनमा देखिने कमेडियन जस्तै लागेनन् । उनी आफ्ना मामा गोविन्दा जस्तै ‘हयान्ड्सम’ देखिए । अग्लो जिउ र गोरो अनुहारसँगै हँसिलोपन कृष्णाको विशेषता हो।
उनीसँग भारतीय नागरिक प्रकाश दासको सहयोगले भेट्दा हाँसिरहेका थिए । उनले आफू यो अवस्थामा आइपुग्न मामा गोविन्दा र माइजू सुनिताको ठूलो हात रहेको बताउन भुलेनन् । क्यारिकेचर, अभिनय र डान्स उनी आफ्नै मामाको प्रभावले सिकेको बताउँछन्।
कृष्णा तीन पल्ट नेपाल घुम्न आएका रहेछन् । सानो सानो कुरामा पनि हँसाउन माहिर उनी नेपालीहरुको मुस्कानको कायल छन् । उनले भेटमा उल्टै मलाई उल्याए, ‘होइन हौ, नेपालीहरुलाई कहिल्यै दुःख आइपर्दैन ? सधैं हाँसेको मात्र भेट्छु।’
उनी नेपालीहरुलाई इमान्दार, साहसी र निष्ठावान मान्छन् । उनले विश्वको थुप्रै देशमा आफ्नो अभिनय क्षमता देखाइसकेका छन् । तर, उनलाई नेपालीमा पनि एकल सो गर्ने इच्छा रहेछ । भने,‘नेपालमा आफ्नो छुट्टै सो गर्ने ठूलो रहर छ।’
उनी नेपालको हिमाल र सौन्दर्यको कायल रहेछन् । ‘मलाई किन हो, नेपाल बारम्बार घुम्न मन लाग्छ । यहाँको हिमाल र सौन्दर्यको फ्यान हुँ’, उनले भने।
भारतको कमेडियन सोमा प्रायः देखिने कृष्णाले फिल्म ‘बोल बच्चन’ र ‘इन्टरटेनमेन्ट’ मा प्रभावशाली भूमिका निर्वाह गरेका थिए।
उनले नेपाली भाषा आफ्नो माइजुबाट सिकेको बताए । ३४ वर्षीय कृष्णाको वास्तविक नाम अभिषेक शर्मा हो । आधा दर्जनभन्दा बढी भोजपुरी फिल्म खेलेका कृष्णा सुटिङकै क्रममा २००७ मा नेपाल पनि आएका रहेछन् । उनी आफ्ना मामा गोविन्दालाई आफ्नो ’गड फादर‘ मान्छन्।
करिब आधा घन्टा छोटो भेटघाटको क्रममा साँझ कृष्णाले छुट्टिने बेला हँसाए, ‘चाँडै घर फर्किनुपर्छ । नभए मामाले रामधुलाइ गर्नुहुन्छ।’
यो पनि पढ्नुहोस्-
सोनु सुद भन्छन्- 'मेरो जीवन सफल बनाउन नेपालीको भूमिका छ'
कैलाश खेर भन्छन्–'नेपालीको संगतले ‘कान्छी हे कान्छी’ गाउन सिकेँ'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।