



चेन्नई– भारतले रोमाञ्चक खेलमा अस्ट्रेलियालाई पहिलो एकदिवसीय खेलमा २६ रनले पराजित गरेको छ। वर्षाले प्रभावित खेलमा घरेलु टोलीले ‘डक वर्थ एन्ड लुइस’ नियमको आधारमा भ्रमणकारी कङ्गारु टोलीलाई पाँच एकदिवसीय शृंखलाको पहिलो खेलमा पराजित गरेको हो।
भारतलाई जित दिलाउन पूर्व कप्तान महेन्द्र सिंह धोनी र हार्दिक पाण्ड्याको योगदान महत्वपूर्ण रहयो। टस जितेर पहिलो ब्याटिङ गरेको भारतको सुरुवात राम्रो हुन सकेको थिएन। ११ रन हुँदा ३ विकेट गुमाएको भारतका लागि पाण्ड्याले ५ छक्काको सहयोगले ८३, धोनीले ७९ रन, केदाव जाधवले ४० र भुवनेश्वर कुमारले अविजित ३२ रन बनाएपछि ५० ओभरमा ७ विकेट गुमाएर २ सय ८१ रन बनाउन सफल भएको थियो।
भारतको पहिलो इनिङ समाप्त हुने वित्तिकै पानी परेको थियो। जसका कारण अस्ट्रेलियाले पुन निर्धारित लक्ष्यअनुरुप २१ ओभरमा १ सय ६४ रन प्राप्त गर्यो। भ्रमणकारी टोलीको पनि सुरुवात राम्रो हुन सकेन। ग्लेन मेक्सवेलले सर्वाधिक ३९ र डेभिड वार्नरले २५ रन बनाए। पुरै टिम २१ ओभरमा ९ विकेट गुमाउँदै १ सय ३७ रनमा समेटियो। पाण्ड्याले दुई विकेट लिए।
युजुवेन्द्र चहलले ३ र कुलदीपले २ विकेट लिए। जितसँगै भारतले शृंखलामा १–० को अग्रता बनाएको छ। हार्दिक म्यान अफ दि म्याच घोषित भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।