काठमाडौं- दशैं, तिहार र छठलाई लक्षित गर्दै राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले दाबी गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा चाडपर्वका लागि लक्षित गर्दै सुरक्षा योजना बनाइएको जानकारी दिइयो । परिसरका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक रवीन्द्रबहादुर धानुकले उपत्यकाको सुरक्षा व्यवस्था त्रुटिरहित र भरपर्दो बनाई जनजीवन सामान्य तुल्याउन र देश, विदेशबाट घर फर्कने तथा उपत्यकाबाट बाहिरिने यात्रुलाई पूर्ण सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए।
प्रहरी जनशक्तिको वैज्ञानिक परिचालन, सूचना संकलनका लागि सादा पोशाकमा प्रहरी परिचालन र आधुनिक प्रविधिको प्रयोग गरी तीन चरणको सुरक्षा व्यवस्था मिलाइएको उनले बताए।
सुरक्षा योजना बमोजिम तीन हजार ७ सय प्रहरी खटाइने, विभिन्न स्थानमा कुकुरसहितका प्रहरी परिचालन गरिने, दैनिक पैदल गस्ती, ३६ वटा साइकलबाट गस्ती, ७५ वटा मोटरसाइकल गस्ती, ३० वटा मोटर गस्ती, पिकेटिङ ४३ स्थानमा, सवारी गस्ती, छड्के चेकजाँच जस्ता कार्य गरिने प्रहरीले जनाएको छ।
चोरी, जुवातास, गुन्डागर्दी, पाकेटमारी, कालोबजारी, खाद्य मिसावट नियन्त्रणका लागि अभियान सञ्चालन गरिने प्रहरीको तयारी छ।
चाडबाडमा अघिल्ला वर्षको तुलनामा यस वर्ष अपराधको संख्या घटाउने प्रहरीको योजना छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।