काठमाडौँ- नेकपा (माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिट लिग (वाइसिएल) ले नेपाल आयल निगमको जग्गा खरिद प्रक्रियामा अनियमितता गरेको भन्दै प्रबन्ध निर्देशक गोपालबहादुर खड्कालाई कारबाही गर्न आग्रह गरेको छ।
आपूर्ति मन्त्री शिवकुमार मण्डललाई आज एक ज्ञापनपत्र बुझाउँदै राष्ट्रिय स्रोत तथा साधनको दुरुपयोग गरेका खड्कालाई तत्काल कारबाही गर्न माग गरेको हो।
चलनचल्तीको मूल्यभन्दा बढी मूल्य तिरेर निगमका लागि जग्गा खरिद गरेको र प्रचलित मूल्य र मान्यताविपरीत गएर काम गरेको भन्दै कारबाहीको माग गरिएको वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटाले बताए।
ज्ञापनपत्र बुझ्दै आपूर्ति मन्त्री मण्डलले खड्काको सम्बन्धमा छानबिन भइरहेको र केही दिनभित्रै कारबाहीको प्रक्रिया अगाडि बढ्ने बताए।
संसदीय समितिको छानबिन, अध्ययन तथा मन्त्रालय आफैंको अध्ययन अन्तिम चरणमा पुगेको जानकारी दिँदै मन्त्री मण्डलले दोषी देखिएका जो कोहीमाथि पनि कानूनी कारबाही हुने बताए। 'खड्काको विषयमा छानबिन भइरहेको छ। मन्त्रालय दोषी उम्काउने पक्षमा छैन। कारबाही हुन्छ,' उनले भने।
संसद्को अर्थ समिति, लेखा समिति, सुशासन समिति र उपभोक्ताहित संरक्षण समितिले समेत खड्कालाई कारबाही गर्न निर्देशन दिइसकेको छ।
सम्बन्धित समाचार
खड्कालाई निलम्बन गर्न आपूर्ति मन्त्रालयलाई सुशासन समितिको पत्र
आयल निगमका खड्कालाई कारबाही गर्न बनाइएको प्रतिवेदन नै गायब !
संसदीय समितिको प्रतिवेदन भन्छ- 'खड्काले अधिकारको दुरुपयोग गरे'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।