चितवन- कम्युटर एशोसिएशन नेपाल महासंघ(क्यान) चितवनको आयोजनामा बिहीबारदेखि भरतपुरमा ‘तेस्रो डिजिकम क्यान इन्फोटेक–२०७४’ शुरु भएको छ।
मेलाको बिहीबार एक कार्यक्रममा बीच अक्सफोर्ड कलेजका विद्यार्थीले बनाएको रोबोटद्वारा उद्घाटन गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलले स्विच थिच्दा रोबोटमा जडान गरिएको कैँचीले रिबन काटेको थियो।
सो क्रममा पोखरेलले सूचना र प्रविधि नै समृद्धिको आधार भएको भन्दै चितवनलाई सूचना र प्रविधिको केन्द्र बनाउनुपर्नेमा जोड दिए। उनले विभिन्न बाह्य देशको चमत्कारिक विकास, सूचना र प्रविधिका कारण नै भएको बताए।
चितवन उद्योग संघका अध्यक्ष भेषराज दवाडीले अहिलेको अवस्था प्रविधिको विकासमा जोड दिनुपर्ने समय भएको दावी गरे। कार्यक्रममा सूचना प्रविधि विज्ञ हरि भण्डारीले सरकारले आइटी क्षेत्रमा चासो कम दिएकोतर्फ ध्यानाकर्षण गराए।
सूचना प्रविधि र मनोरञ्जनको क्षेत्रमा जनचेतना अभिवृद्धि गर्न, नयांँ पुस्तालाई सक्षम, स्वावलम्बी र प्रविधिमैत्री बनाई जनशक्ति निर्माण गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको क्यान, चितवनले जनाएको छ।
हरेक क्षेत्रको नेतृत्व गर्ने चितवनले अब सूचना प्रविधिको क्षेत्रमा पनि नेतृत्व गर्नुपर्नेमा मेला आयोजक समितिका संयोजक तथा क्यान चितवनका अध्यक्ष भानु शर्माले जोड दिए।
‘चितवनको समृद्धिः सूचना प्रविधि’ भन्ने मूल नाराका साथ शुरु भएको मेला माघ २९ गतेसम्म चल्नेछ। मेलामा कम्प्युटर, मोबाइल, ल्यापटप, स्मार्ट टिभी, सफ्टवेयरलगायतका ८० वटा स्टल राखिएको छ।
यस्तै सूचना प्रविधिसम्बन्धी जनचेतना अभिवृद्धि गर्नका लागि सेमिनार, गोष्ठी, रोबोटिक प्रदर्शनी र गेमिङका स्टल रहने मेला आयोजक समितिका सदस्य टेकलाल भुषालले जानकारी दिए। मेलामा आउने अवलोकन कर्ताका लागि ५० रुपैयाँ र विद्यार्थीको लागि २५ रुपैयाँ टिकटको व्यवस्था गरिएको छ।
मेलामा २ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।