नयाँ दिल्ली (एजेन्सी)– भारतको राजधानी नयाँ दिल्लीमा भइरहेको अटो एक्सपो–२०१८ को विहिबार दोस्रो दिन ‘ट्वान्टी टु मोटर्स’ ले पहिलो स्मार्ट इलेक्ट्रिक स्कुटर ‘फ्लो’ सार्वजनिक गरेको छ। भारतीय बजारमा यसको मूल्य ४७ हजार ७ सय ४० रुपैयाँ बताइएको छ। यसको बुकिङ ८ फेब्रुअरीबाट सुरु हुँदैछ।
‘फ्लो’ मा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ समावेश गरिएको छ। कम्पनीका अनुसार केही लामो दुरीको यात्रा गर्न यसले सहज बनाउँछ। ‘ट्वान्टी टु मोटर्स’ का संस्थापक तथा सिइओ परवीन खरबले सार्वजनिक कार्यक्रममा भने, ‘फ्लो हाम्रो पहिलो र अगाडि बढ्न चाहने पुस्ताका लागि हो। यो भारतीय बजारका लागि मात्र होइन, अन्तर्राष्ट्रिय बजारका लागि पनि हो।’
कम्पनीले दावी गरेको छ– यसमा विशेष किसिमको ‘स्मार्ट सोलुसन’ छ, जसका कारण भीड र जाममा पनि चलाउन सहज हुनेगर्छ।
स्कुटरको विशेषताको रुपमा अन्य ‘फिचर’ लाई पनि समेटिएको छ। ‘टच ड्यासबोर्ड डिस्प्ले’ ले चक्कामा जोडिएको डाटा पनि देखाउँछ। यसमा ‘युजर सेन्ट्रिक’ मोबाइल एप्लिकेशन समावेश गरिएको छ।
स्कुटर प्रयोगकर्ताले रिमोटबाट सबै कुरा ट्रयाक गर्न सक्छन्। यसमा एउटा ‘स्मार्ट ऐप’ पनि समावेश गरिएको छ, जसले गर्दा स्कुटरलाई बन्द पनि गर्न सकिन्छ। स्कुटरको तौल ८५ केजी छ। यसमा लिथियम आयन ब्याटरी लगाइएको छ।
कम्पनीको दावीअनुसार ५ घन्टा चार्ज गर्दा ८० किलोमिटरको दूरी तय गर्न सकिन्छ। स्पिड ६० किमी प्रति घन्टा छ। यसको ‘हाई एन्ड मोडल’ मा ‘डुअल ब्याटरी’ को पनि अप्सन छ। यसबाहेक पनि स्कुटरमा ‘टेलिस्कोपिक सस्पेन्सन’ राखिएको छ। स्कुटरमा हेलमेट दुईवटा राख्न मिल्छ। फोन चार्ज गर्ने सुविधा पनि छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।