राजविराज– वकालत थालेकै पाँच दशक पुग्यो उनको। नाम हो, हिम्मत सिंह। सप्तरीमा रहेका बेला बिहान–बेलुकी राजविराजस्थित खरले छाएको कटेरोमा उनलाई सहजै भेट्न सकिन्छ। वरिष्ठ अधिवक्ता सिंह जहिल्यै साधारण भेषभुषामा भेटिन्छन्।
मुलुकमा पछिल्लो समय बढ्दो बेथितिप्रति उनको गहिरो चिन्ता छ। उनको सबैभन्दा बढी चिन्ता आफूसमेत एक सरोकारवाला रहेको न्यायालयमा बढेको भ्रष्टाचारप्रति छ। भन्छन्, ‘जसलाई अरुले गरेको अपराधमा सर्वस्वसहित जन्मकैद दिने अधिकार छ, त्यही निकाय भ्रष्ट छ। कसैको पुस्तौनी सम्पत्ति हुनसक्छ, त्यस्ता बाहेक काठमाडौंमा घर हुने न्यायाधीशहरु भ्रष्ट हुन् ।’
यसै त न्यायिक प्रक्रियामा हुने ढिलासुस्तीले सेवाग्राही आजित छन्, त्यसमाथि न्यायालयमै भ्रष्टाचारले प्रवेश गरेपछि आमजनताको न्याय प्राप्तीको अपेक्षामा घात भएको उनको भनाई छ। ‘हामी पेशाकर्मीमा पनि खराबी रह्यो। वकिलहरु नै बिचौलिया बनेर न्यायालयलाई भ्रष्ट बनाउन उद्दत छन्,’ उनले भने।
राजनीतिक दलले न्यायालयलाई समेत प्रभावित पारेकोमा उनको विरोध छ। राजनीतिक भागवण्डामा न्यायालय प्रवेश गर्ने परिपाटी अन्त्य हुनुपर्नेमा जोड दिन्छन्। ‘वकिललाई पनि पद चाहिएको छ, राजनीतिक दल गुहार्छन्,’ उनी भन्छन्, ‘आफ्नो स्वार्थविपरीत गर्नेलाई दलहरुले अंकुश लगाउने गरेका छन्। निर्भिक रुपमा काम गर्ने सुशीला कार्कीमाथि महाअभियोग नै लगाएर तर्साउन खोजे। यस्तो पनि कहीँ हुन्छ?’
मुलुकमा एकपछि अर्को गरी भ्रष्टाचारका ठूला मुद्दा उजागार हुँदासमेत राज्यसंयन्त्र र छानबिन गरी कारबाही गर्ने संवैधानिक निकाय मौन रहनुले देश माफियाकरणतर्फ धकेलिँदै गएको उनको बुझाई छ। ‘नेताहरु स्वयम् व्यापारी बन्दै गएका छन्। भ्रष्टाचारमा लिप्त छन्। देश माफियाको हातमा गएको छ। हामी भ्रष्टहरुबाट शासित हुन बाध्य भएका छौ।’
स–साना विषयमा सडकमा उत्रने नागरिक समाज भ्रष्टाचारका यत्रा ठूला मुद्दामा मौन बसेको देख्दा उनी चकित छन्। राजनीतिक आबद्धताका कारण नै आफूलाई नागरिक अगुवा भन्न रुचाउनेहरु भ्रष्टाचारको मुद्दामा मौन बसेको उनको बुझाई छ।
कांग्रेस र पञ्च त भइहाले, आफूलाई सर्वहारा वर्गको मसिहा भन्ने कम्युनिष्ट नेतासमेत चिल्ला गाडी चढ्ने, आलिसान महलमा बसेको देख्दा उनलाई हासो उठ्छ । अलि अघि भारत गएका बेला त्यहाँका एक कम्युनिष्ट नेताले सिंहलाई सोधे पनि, ‘तपाईको देशका कम्युनिष्ट नेताको रवाफ त पूँजीवादीहरुको भन्दा चर्को छ। यो कसरी संभव छ ?’ सिंहसँग यस कुराको कुनै जवाफ थिएन।
समाजको हरेक क्षेत्रमा भ्रष्टाचार, बेथिति बढिरहेको सन्दर्भमा सिंहको प्रश्न छ, ‘राज्यले यो सब कहिलेसम्म थेग्ला?’ लाभको पदमा बसेर कमाउने धनाढ्य हुँदै जाने र गरिब जनता झन् मारमा पर्ने उनको बुझाई छ। आगामी दिनमा धनी र गरिब बीचको दूरी बढ्दै जाने र भ्रष्टाचारका कारण राज्य नै असफल हुने खतरा देखेका छन् उनले।
स्थानीय तहको तेस्रो चरणको निर्वाचन हुँदै गर्दा प्रदेश–२ का प्रायः सबै उम्मेदवारले गरेको खर्च देखेर पनि उनी हैरान छन्। ‘यत्रो पैसा कहाँबाट आयो। भोली जित्नेको पहिलो काम नै चुनाव खर्च उठाउनु हुनेछ। यसले त भ्रष्टाचारलाई झन् प्रश्रय दिन्छ,’ उनी भन्छन्, ‘स्थानीय जनप्रतिनिधि पायौं भनेर जनता खुसी हुने अवस्था छैन। उनीहरु झन् मारमा पर्ने देखिन्छ।’
राजनीतिक दलमा व्यापारी, जमिन्दार र धनीहरु नै हावी हुँदै जाँदा जनप्रतिनिधिको होइन, माफिया र भ्रष्टहरुको जमात बढ्ने उनको ठम्याई छ। दलहरुले छानी–छानी धन हुनेलाई मात्र टिकट दिएका छन्। गरिबलाई अब उम्मेदवार नै बन्न गाह्रो बन्दै गएको बताउँछन् उनी। ‘पैसा र पावरकै सेरोफेरोमा मुलुकको शासन व्यवस्था सञ्चालन हुनु असफल राज्यतर्फको यात्रा हो, यसलाई तत्काल सच्याउनुपर्छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।